धरानः धरानका निजी तथा सार्वजनिक स्कुल नयाँ शैक्षिक सत्रदेखि मात्रै सञ्चालन हुने भएको छ ।
खासमा यस वर्षदेखि शैक्षिक सत्र असार १ गतेदेखि शुरु हुने भनिएको छ । यसअघि चैतको अन्त्यतिर नयाँ शैक्षिक सत्र सञ्चालन हुँदै आएपनि कोरोना महामारीले पछाडि धकेलिएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयले धरानका विद्यालय पनि बन्द गर्ने निर्णय गरेको थियो तर मङ्गलबार पनि भौतिक उपस्थितिमै स्कुल सञ्चालन भएका थिए । ‘मन्त्रीपरिषदले निर्णय गरेको भन्ने कुरा समाचारमा थाहा पायौं । आधिकारिक सूचना दिन नसकिएकोले आज स्कुल लागेको हो’, धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले भने, ‘आज सर्वपक्षीय बैठक बसेर नयाँ निर्णय भएको छ ।’
‘धरानका स्कुलका मामिलामा नयाँ नियम लागू भएको छ, पर्सी (बिहीबार) देखि स्कुल बन्द हुन्छ, १४ वार्षिक परीक्षा हुन्छ, २४ गते परीक्षा सकिन्छ, त्यसपछि जेठ मसान्तसम्म ढुक्कै स्कुल बन्द रहन्छन्,’ शिक्षा महाशाखाका प्रमुख कटुवालले भने, ‘त्यसपछि नयाँ शैक्षिक सत्रदेखि मात्रै स्कुल लाग्ने हुन् ।’
उनका अनुसार उपमहानगरपालिकामा बसेको बैठकले सो निर्णय गरेको हो । ‘भोलि बुधबारचाहिँ विद्यार्थीहरुलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षाबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय भएको छ’, उनले भने ।
धरान उप–महानगरपालिकाको सामुदायिक तथा निजी विद्यालयहरुमा मङ्गलबार पनि भौतिक उपस्थितिमै पढाइ भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यकाका, धरानलगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
उनले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारी नेपालमा समेत संक्रमण बढ्दै गएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ । उनले २०७८ वैशाख मसान्तसम्म भौतिकरुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ शैक्षिक गतिविधि सञ्चालन गर्न आदेश जारी भएकोमा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने परीक्षा जनस्वास्थ्यका मापदण्ड अपनाएर सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।
