सुनसरीः इटहरी–१६ घर भई हाल इटहरी–६, कालिका गोल्ड एण्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिलसहित पक्राउ गरिएको छ ।
मंगलबार साँझ साढे ८ बजे उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई इटहरी–६ स्थित विराटनगर लाइनबाट हिँडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजारसहित पक्राउ गरेको हो ।
घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिँडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई बरामद गरेको सुनसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।
यस्तै, इनरुवा–४ स्टार होटल अगाडिबाट मंगलबार साँझ सभा ५ बजे जाली नोटसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेका छन् । महेन्द्र नेपाली कांग्रेसका उपमहानगर कमिटीका उपसभापति समेत रहेको जनाइएको छ ।
जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भइरहेको सो कार्यालय जनाएको छ । यस्तै, विराटनगर–५ का २३ वर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्कीसहित पक्राउ गरेको छ ।
दिउँसो ३ बजे विराटनगर–१६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्कीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।