धरानः भर्खर १२ वर्ष पुगेका धरानका सुमन विश्वकर्मा फुटबलमा भविष्य खोज्दै एन्फा अण्डर १३ छनौटका लागि अहिले काठमाण्डौं पुगेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १७ फोक्लेन सुकुम्बासी वस्तीमा राम्रो बोल्न नसक्ने असहाय बाबु सुरेश र आमा करिष्माको ३ सन्तानमध्ये कान्छो छोराका रुपमा रहेका सुमन घरायसी आर्थिक अवस्था कमजोर हुँदा पेटभरी खान नपाएपनि फुटबल भने खेल्न नछोड्ने अठोटसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले बैशाख ६ गतेदेखि सञ्चालन गरेको राष्ट्रिय छनौट प्रतियोगितामा भाग लिइरहेका छन् ।
१३ वर्षमुनिका १६६ जना बाल खेलाडीहरुको छनौटका लागि ७ वटै प्रदेशबाट सहभागीमध्ये पहिलो चरणमा भएको ७३ जनामा सुमन छनौट भएका छन् । एन्फाले २१ जनालाई छनौट गरी एकेडेमीमा राख्ने भएको छ । सुमनलाई यस ठाउँसम्म पुरयाउनका लागि धरान–१७ फोक्लेनमा रहेको दीपेन्द्र स्मृति आधारभूत विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलको महत्वपूर्ण योगदान रहेको छ ।
प्रअ सञ्जेलले भने, ‘सुमनको बुबा आमा मागेर जीवन चलाउने असहाय हुन् । त्यस्तो परिवारमा हुर्केका कारण उनका अनुशासन पनि थिएन, साइकल ग्यारेजमा काम गर्दै गरेको फेला पारेर स्कूलमा भर्ना गराएँ । उसको रुची फुटबलमा देखेर मैले उसलाई फुटबलमा नै जोड दिएको छु । अहिले राष्ट्रिय स्तरको प्रतियोगितामा छनौट हुँदैछ त्यसमा खुशी छु ।’
सुनमलाई काठमाण्डौंमा रहन र बस्नका लागि विद्यालयबाट केही सहयोग जुटाएर सहयोगीका साथ पठाइएको प्रअ सञ्जेलले बताए । उनले भने, ‘विद्यालयबाट केही सहयोग गरेका छौं, काठमाण्डौंमा खान, बस्न र तयारी गर्न खर्चको अभाव भएको छ । सहयोगी महानुभावहरुलाई सहयोगका निम्ति आह्वान गर्दछौं ।’
करिब ७ वर्ष अघि सुमनका बुबाआमाले अपरिचित व्यक्तिलाई एकहजार रुपैयाँमा दिएका थिए । त्यो सुनेर प्रअ सञ्जेल र मनोज भट्टराईको पहलमा सप्तरीको कञ्चनपुरबाट फिर्ता लिन सफल भए । त्यसपछि विद्यालयमा पठनपाठनको व्यवस्था गर्दै घरमा चामल समेत दिँदै विद्यालय पढ्ने बानी बसाए ।
गत वर्ष दलित विकास समिति धरानले आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा उत्कृष्ट बाल खेलाडीको पुरस्कार पाएका सुमनले त्यसपछि विद्यालय स्तरका विभिन्न प्रतियोगिताहरुमा समेत पुरस्कार पाउँदै आएका छन् ।
स्टाइगर खेलाडी सुमन घरमा असहाय बुबाआमा, दाइ र सानो बहिनीलाई छोडेर काठमाण्डौंमा फुटबलबाट आफ्नो भविष्य खोजिरहेका छन् । सुमन भन्छन्, ‘पेले पनि म जस्तै गरिब थिए रे, उनलाई फुटबल क्लबका एकजना व्यक्तिले टिपेर क्लबबाट खेल्ने मौका दिएका कारण उनले विश्वमा नै नाम राखे । म पनि कोशिस गर्छु, अवसर पाए फुटबलबाटै देशलाई विश्वमा पुरयाउने सपना देखेको छु ।’