Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसपटक कोरोना परीक्षणसँगै छातीको एक्सरे पनि आवश्यक

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
यसपटक कोरोना परीक्षणसँगै छातीको एक्सरे पनि आवश्यक

कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?
–ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ ।
समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ, के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ ।
यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।
खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?
–खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।
के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?
–भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।
एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?
–एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन ।
के जडिबुटी वा आयुर्वेद औषधिले कोभिड निको पार्छ ?
–पार्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।
के सिटामोलको कोर्ष पूरा गर्नुपर्छ ?
– पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको, जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।
अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?
–अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो ।
अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?
–घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ । यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।
अस्पताल प्याक छन् । अब के गर्ने ?
–सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फिभर क्लिनिकमा जाँच गराएपछि तपाईंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यवस्था गर्छन् ।
मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?
–मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ । डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।
यो महामारी कति खतरनाक छ ?
–यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन । संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।
सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठीक हुन्छ ?
–हुँदैन, फोक्सोमा संक्रमण, निमोनिया, पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसँगै अक्सिजन लिँदा फाइदा गर्छ । अक्सिजन आफैंले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ ।
कोभिडको उपचार के छ ?
–कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।
पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?
–मापदण्ड पालना नगरे संक्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।
कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?
–विभिन्न वैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने, नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ ।
यो स्थिति कहिलेसम्म रहला ?
–दोस्रो लहर अझै २–३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० प्रतिशत नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।
महामारीमा आत्मबल कसरी बढाउने ?
–यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् । अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण बिषय हो । योग, ध्यान, प्रवचन श्रवण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ । तनाब दिने खालका कुरा नसुन्ने, नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend