धनकुटाः रैथाने अर्थात लोकल कुखुराको आयु कति वर्षको हुन्छ ? ठ्याक्कै यति बर्ष बाँच्छ होइन, ‘कहिले छिपिन्छ र बेच्ने वा काटि खाने’ भन्नेमै धेरैको ध्याउन्न हुने गरेको पाइन्छ । तर, तिलमाया मगर फरक छिन् । उनले ‘कहिलेसम्म बाँच्दो रहेछ’ भनेर साचि राखेको कुखुराको चल्लो यो बेला सात वर्षको भयो ।
छिप्पिनुसम्म छिप्पिएको छ, भाले । चरि हिँड्न सक्दैन, चारो दिँदा तिलमायाकै समिपमा लपेटिन्छ । ‘धेरैले किन्न खोजे बेचिन्’ उनले भनिन्, ‘जहिलेसम्म बाँच्छ, चारो खुवाएर स्यहार गरिरहन्छु ।
पूर्वको पर्यटकीयस्थल भेडेटारमा होटल व्यवसाय गर्ने तिलमाया सो भालेलाई दुई वर्षको हुँदादेखि पालेको बताउँछिन् । भेडेटारस्थित राजारानी मार्गको प्रस्थानविन्दुमै रहेको तिलमाया होटलकी सञ्चालिका उनले सो भाले परिवारको सदस्यकै रुपमा रहेको पनि बताइन् । भनिन्, ‘यो भाले लक्षिनको पनि छ, पालेदेखि सङ्कटको सामना गर्नुपरेको छैन ।’ उनका अनुसार कानेपोखरीको दलेलीबाट आफन्तले पठाइदिएको भाले अहिले सात वर्ष पुगेको हो । भालेलाई हालसम्म कुनै रोगव्याधी नलागेको र औषधोपचार गर्नुपरेको पनि छैन ।
‘०७२ सालमै ल्याउँदा नै करिब दुई वर्षको थियो, हिसाब गर्दा सात वर्ष त पुग्यो नै’, उनले भनिन् । होटलमा आउनेले फोटो खिच्ने, मोलतोल गर्ने गरेपनि भाले बिक्री गर्ने कुरा कल्पना पनि नगरेको तिलमायाले सुनाइन् । एक वर्ष अघिसम्म ७ केजी तौलको भाले धेरै पाको भएको सुनाउँदै हाल ४ किलोमा झरेको तिलमायाको कथन छ । भेडेटारकै सौभाग्य होटलका सञ्चालक दीपक मगरले आफूले चार वर्षसम्मको देखेपनि सात वर्ष उमेरको कुखुराचाहिँ पहिलोपटक देखेको बताए । कतिपय मान्छेले ‘गुरु भाले’ का रुपमा लामो समयसम्म पाल्ने गरेपनि यति लामो अवधिसम्म भालेको आयु रहनु र पालिनु नै अनौठो भएको मगरको भनाइ छ ।
रैथाने प्रजातिका कुखुराको आयु सामान्यतयाः तीनदेखि १० वर्षसम्म रहने अध्ययनहरुले देखाएको छ । कुखुराको आयुमा वातावरण, रहनसहन,खानपिन, रोगव्याधि, अनुवांशिक गुणलगायतले प्रभाव पार्छ ।
अध्ययन अनुसार अष्टेलियामा ‘मटिल्डा’ नाम गरेको एउटा कुखुरा १६ वर्षसम्म बाँचेको थियो । सन् १९९० मा कोरलिएको चल्लो ११ फेब्रअुरी २००६ सम्म बाँचेको थियो । संसारमा सबैभन्दा बढी समय बाँच्ने कुखुराको रुपमा मल्टिडाको आयु गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ । -ब्रेकलिङ्कबाट