धरानः कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी लकडाउनले धरानका विद्यालयमा हुँदै आएको वार्षिक परीक्षा अन्यौलतातर्फ धकेलिएको छ ।
परीक्षा हुने वा नहुनेमा अहिले पनि अन्यौल नै रहेको छ । विद्यालय र विद्यार्थी अहिले परीक्षा हुने हो कि नहुने अन्यौलमा बसिरहेको अवस्था छ ।
यसैबीच धरानमा वार्षिक परीक्षा नहुने सम्भावना बढेर गएको छ । धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कठिन बन्दै गएको बताए । ‘शैक्षिक सत्र नै असार १ गतेदेखि शुरु गर्ने भनिएको छ, असार त आउनै लाग्यो, अहिलेको अवस्थामा भौतिकरुपमा उपस्थित भएर परीक्षा गर्न सम्भव छैन’, उनले भने, ‘त्यही भएर पनि वार्षिक परीक्षा हुनेभन्दा पनि नहुने सम्भावनाचाहिँ बढेकै हो ।’
उनले केन्द्रले के निर्णय गर्छ, त्यही आधारमा आफूहरु अघि बढ्ने बताए । ‘हामी पनि के गर्ने भन्ने बारेमा अन्यौल नै छौं तर तयारीमा अवस्थामाचाहिँ छौं, काठमाडौं, पोखरालगायतका सहरले सूचना नै जारी गरेर महामारीका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएकोले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरेर नतिजा प्रकाशन गर्न निर्देशन जारी गरिसकेको अवस्था छ, हामी पनि तयारी अवस्थामै छौं’, उनले भने, ‘तर काठमाडौंमा किन यसो गरियो भनेर स्पष्टीकरण सोधिएको अवस्था समेत छ, त्यही भएर केन्द्रको निर्णय पर्खिरहेका छौं ।’
धरानमा अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्ने तयारी गर्दैगर्दा निषेधाज्ञा जारी भएको थियो ।
यसअघि धरानका निजी तथा सार्वजनिक स्कुलले नयाँ शैक्षिक सत्रदेखि मात्रै सञ्चालन गर्ने र वैशाख १४ गतेदेखि परीक्षा शुरु गरेर २४ गते सक्ने तयारीमा थिए । तर कोरोनाको लहर शुरु हुन थालेपछि उपमहानगरपालिकाले वैशाख १८ गतेसम्ममा भएपनि कक्षा–५ देखि माथिको परीक्षा गरिसक्ने गरी तयारी भएको थियो । तर विरोध शुरु हुन थालेपछि त्यो परीक्षा पनि रोकिएको थियो ।
उता दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरू हुनेमा अन्योल देखिएको छ । शिक्षा मन्त्रालयले नै शैक्षिक सत्र नै फेरिनसक्ने भन्दै आएको छ ।
गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय भएको थियो ।
शिक्षासँग सम्बन्धित संस्थाले पनि अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया जनाउँदै आएका छन् । महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ ।