धरानः अभिभावक, विद्यार्थी, विद्यालयमै पनि विद्यार्थीको परीक्षा के होला भन्ने अन्यौलता छाइरहेको बेला धरानमा परीक्षाबारे निर्णय भएको छ । धरानमा आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन हुने भएको छ ।
२०७७ का कक्षा १ देखि ९ सम्मका परीक्षा आन्तरिक मूल्याङ्कनबाट प्रकाशन गर्न धरान उपमहानगरपालिकाले आग्रह गरेको छ । कक्षा–८ को नगरस्तरीय परीक्षाको नतिजा समेत आन्तरिक मूल्याङ्कनबाट हुने जनाइएको छ ।
भौतिकरुपमा परीक्षा सञ्चलन गर्न नसकिने जनाउँदै यसअघि लिइएका परीक्षाकै आधारमा नतिजा प्रकाशन हुन लागेको शाखा अधिकृत रमेशकुमार शाहद्वारा जारी सूचनामा जनाइएको छ । यसअघि लिइएका परीक्षा, विद्यार्थीको उपस्थिति, आन्तरिक मूल्याङ्कनलगायत अन्य वैकल्पिक विधिबाट अन्तिम विद्यार्थी मूल्याङ्कन तथा प्रमाणिकरण गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनले वैशाख ३१ गतेसम्ममा नतिजा प्रकाशन गरिसक्नु निर्देशन दिइएको जानकारी दिए । ‘भौतिकरुपमै परीक्षा लिन नसकिने नै भयो’, शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले भने, ‘विद्यार्थी, अभिभावकलाई अन्यौलमा त राखिराख्नु भएन नि भनेर यस्तो निर्णयमा पुगेका हौं ।’ उनले २०७८ असार १ गतेलाई शैक्षिक सत्र शुरु गर्ने भनिएकोले असार १ गतेयता शैक्षिक सत्र शुरु नगर्न पनि निर्देश भएको बताए ।
