धरानः मानिस कति वर्षसम्म बाँच्न सक्छ ? यो निकै जटिल प्रश्न हो । सामान्यतया मानिसको आयु एक सय वर्ष मानिँदै आएको छ तर कतिपय मान्छे त्यो भन्दा धेरै वर्षसम्म जीवितै रहेका पर्याप्त उदाहरण हामीसँग छन् ।
यो कुराको खोजी गर्ने क्रममा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टलिजेन्ट) को प्रयोग गरेर अनुसन्धानकर्ताहरूले स्वयंसेवकहरूको स्वास्थ्य डेटा विश्लेषण गरेका छन् । अध्ययनले मानव जीवनको लागि दुई महत्त्वपूर्ण विषय भेट्टायो– जैविक उमेर र लचिलोपन । पहिलो तनाव, जीवनशैली र जटिल रोगहरुसँग जोडिएको छ । अर्को व्यक्ति तनाव प्रतिको प्रतिक्रिया पछि सामान्य परिस्थितिमा कति छिटो फिर्ता हुन्छ भन्ने कुरासँग सम्बन्धित छ ।
त्यसो गर्दा अनुसन्धानकर्ताहरू ‘वृद्धावस्थाको गति’ बुझ्न सक्षम भए । जसले पत्ता लगाए कि मानव शरीर अमर हुँदैन । साइन्टिफिक अमेरिका डटकममा प्रकाशित एक लेख अनुसार सो अध्ययनले देखाएअनुसार मान्छे १२० देखि १५० वर्षसम्म बाँच्न सक्छ ।
अहिले सबैभन्दा धेरै वर्षसम्म बाँचेकी जीवित व्यक्ति एक जापानी महिला हुन् जो ११६ वर्षकी छिन् । यसअघि कुनै मानिस सबैभन्दा धेरै वर्ष बाँचेको रेकर्ड १२२ वर्षको छ । मानिसको आयुको विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले एक मानिस अधिकतम कति वर्षसम्म बाँच्न सक्छ भन्ने मोटामोटी तथ्यांक निकालेका छन् ।
यी इन्डिकेटरलाई डाइनामिक अर्गेनिज्म स्टेट इन्डिकेटर (डोसी) भनिन्छ । यसबाट कुनै पनि मानिसको शरीरले उसलाई अधिकतम कति वर्षसम्म साथ दिन सक्छ भन्ने पत्ता लगाइन्छ । यसका लागि रगतको विशेष जाँच पनि गर्नुपर्छ । वैज्ञानिकहरुले रगतको जाँच गराएपछि आफूले बनाएको इन्डिकेटर र रगत जाँचको परिणामा मिलान गरेर हेरे । शोधमा यदि मानिसको स्वास्थ्य एकदमै सही रह्यो र परिस्थिति पनि त्यो मानिसको शरीरको अनुकूल रहरयो भने एक मानिस बढीमा १५० वर्षसम्म बाँच्न सक्छ भन्ने पत्ता लाग्यो ।
जैविक भाषामा मानिसको आयु घट्नु भन्नाले शरीरका अंगले कम काम गर्नु र शरीर रोगले संक्रमित हुनुलाई बुझिन्छ । अर्को ठूलो कारण शरीरका डिएनए लगातार विभाजित हुनु पनि हो । यसो हुँदा रोगले धेरै असर गर्छन् र शरीरका अंगहरुले साथ दिन छोड्छन् ।
वैज्ञानिकहरुले अलग अलग उमेर समूहका मानिसहरुको रगतको नमूना लिए । रगतका कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जाँचियो । यो जाँचमा रगतमा भएका सेता रक्तकोष, राता रक्तकोष र प्लेटेलेट्सको मात्रा हेरिन्छ । घट्दो उमेरको ट्रेजेक्टरी र सीबीसी मिलान गरेर हेर्दा कुन उमेरमा कुन सम्भावित रोगले के असर गर्छ भन्ने थाहा भयो । यी इन्डिकेटरले शरीरको क्षमतालाई बताउँछन् । डोसी र बढ्दो उमेरको आपसी सम्बन्धले यदि शरीरका सबै अंगले सन्तुलित तरिकाले काम गरिरहेका छन् र कुनै गम्भीर रोग छैन भने मानिस १२० देखि १५० वर्षसम्म बाँच्न सक्ने देखायो ।
आनुवंशिकका हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक डेभिड सिन्क्लेयरले उक्त अध्ययनमा टिप्पणी गर्दै भने ‘यो अध्ययनले मानिसको वृद्धि र स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण हस्ताक्षर हो जसले औषधिको विकास प्रक्रियालाई अझ तीव्र बनाएर मानिसको आयु बढाउन मद्दत गर्दछ ।’
तर, सम्भवतः मानिसको अमरत्वको खोज यो नयाँ अनुसन्धानले चकनाचुर भयो । किनकि सम्पन्न मानिसहरू सधैंभरि जीवित नै रहनको लागि यस्तो खोजलाई प्राथमिकतामा राख्दै आएका थिए ।
