मन मस्तिष्कका काम गराइ, जस्तैः अनुभव, सोच, विचार आदिमा असर पार्ने कुनैपनि चीज, वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ । मन मस्तिष्कमा पर्ने असरका आधारमा यी पदार्थहरुलाई मूलरुपमा उत्तेजना (जस्तैः निकोटिनजन्य, क्याफिन र कोकेन) उदासिनता (जस्तैः बेन्जोडाइजेपिन, ओपियट), र आभास भ्रम जस्तैः एलएसडी तथा गाँजा) गराउने भनी वर्गीकरण गरिन्छ । बारम्बार प्रयोग भएपछि बढी डोज चाहिने र डोज नपुग्दा वा रोक्दा छटपटी, अनिन्द्रा जस्ता असरहरु आउने र तलतल लाग्ने हुन्छ । पदार्थअनुसार त्यस्ता लक्षणहरुको मात्रा फरक पर्दछ । ओपियड, बेन्जोडाइजेपाम जस्ता पदार्थ तुलनात्मक रुपमा कम र छोटो समय मात्र प्रयोग गरेपनि यी असर आउने गर्छन् ।
यसको प्रयोगले विभिन्न मानसिक, शारिरीक रोगहरु उत्पन्न हुन्छन् । यस्ता धेरै प्रयोगकर्ताहरुमा उदासिनता, छटपटी, पागलपन वा व्यक्तित्वका गडबडीहरुलगायत विभिन्न् मानसिक लक्षण र रोगहरु उत्पन्न हुन्छन् । सुईबाट असुरक्षित किसिमले जथाभावी प्रयोग गर्दा एचआईभी एड्स, हेपाटाइटिस आदि रोगहरु महामारीकै रुपमा फैलिइरहेको छ । सामान्यतयाः यस्ता पदार्थहरु अरुको देखासिकी, रमाइलो, कौतुहल, सामाजिक माहोल, सामाजिकीकरण, टोनिक, तनावनासक आदिरुपमा शुरु हुन्छ । यस्ता पदार्थको क्षणिक र तत्कालको सुखद् र छली असरका कारण व्यक्ति फेरिफेरि प्रयोग गर्नपुग्छ ।
यसरी बारम्बार सेवन गर्दा स्नायुकोषहरुमा आउने परिवर्तनले गर्दा एकपछि अरु यस्ता असरहरु उत्पन्न हुन्छन् जसले गर्दा पछि प्रतिकूल असरहरुका बाबजूद व्यक्ति यस्ता पदार्थको प्रयोग जारी राखिरहन्छन् । औषधि नै भएपनि यी पदार्थहरुको जथाभावी प्रयोगले समस्याको चक्रव्युँह नै सिर्जना हुन्छ जसबाट उम्किन व्यक्तिलाई हम्मेहम्मे नै पर्नेगर्छ । जुनसुकै परिस्थिति र प्रयोजनका लागि थालेको भएपनि कुनबेला, कसलाई र कसरी पछि गएर समस्या, लत, दुव्र्यसनमा बदलिन्छ भन्नै गाह्रो हुन्छ ।
सामान्यतया यस्तो पदार्थ एक वा बढी पटक अत्याधिक सेवन गरेर मात् लाग्ने अवस्थासम्म पुग्नु नै समस्याको शुरुवाटको रुपमा लिन सकिन्छ । यस्ता पदार्थको सेवनपछि शारिरीक (जस्तैः टाउको भारी हुने, पेटमा दर्द हुने), मानसिक (जस्तैः छटपटी, अनिद्रा, दिक्दारी, विस्मृति), सुरक्षाको बेवास्ता (जस्तैः मात् लागेको अवस्थामा पनि ड्राइभिङ गर्नु), चोटपटक वा कानुनी कारवाहीजस्ता नराम्रा स्वास्थ्य असर पैदा भएको अवस्था अझ अरु जटिल हो ।
यस्ता प्रतिकूल असर उत्पन्न भइसकेको स्थितिमा पनि बारम्बार यस्ता चिजको बिना डाक्टरी प्रेस्कृप्सन प्रयोग गर्नु झन त्यो चक्रव्यूहको अर्को चरण मानिन्छ । गएको वर्ष कम्तिमा एक महिना यदि कसैमा, शारिरीक वा मानसिक असरका बावजुद, पहिलेभन्दा ज्यादा डोजमा बिहानैदेखि वा सामान्यतः यस्ता पदार्थ प्रयोग गर्न बर्जित स्थानमा पनि प्रयोग हुन्छ, तलतल आफ्नो बसमा छैन र प्रयोग नगर्दा बेचैनी वा यस्तै असरहरु देखा पर्छन् भने, यो अवस्था आफैमा एक गम्भीर बिमारी हो ।
यस अवस्थामा सम्पूर्णरुपमा व्यक्तिको मन, तन र धन सबै यस्ता पदार्थको सेवन, त्यसको प्राप्ति र सेवनको प्रतिकूल असर हटाउने दिशातिर परीलक्षित हुने गर्छ । नशा सेवनको चक्रव्युँहमा यो अवस्था बढो जटिल विन्दुको रुपमा लिइन्छ र यसलाई लत वा दुव्र्यसन भनिन्छ । यसरी दुव्र्यसन भएको व्यक्तिले विभिन्न स्थितिमा यस्ता पदार्थको प्रयोग कम गर्दा वा रोक्दा बेचैनी वा सिक हुने मात्र होइन, बेहोस भई काम्ने, मान्छे नचिन्ने जस्ता जटिल अवस्था पनि आइपर्छन् र कतिपय व्यक्तिको यस्तोबेला उपचारका बावजूद पनि ज्यान जानसक्छ ।
व्यक्ति, परिवार, समाज सबै सचेत भएर यो समस्याको रोकथाम गर्ने, समस्या भएमा उपचार गर्ने र असर कम गर्नेतिर लाग्न जरुरी भएकोछ । यो समस्या हुनै नदिनका लागि अपनाउन सकिने प्राथमिक रोकथामका उपायहरु हुन् ः स्कुल, क्याम्पस र सबैतिर यसबारे जनचेतना जगाउने, यसको सेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट आफू र विशेषतः बच्चा र किशोरहरुलाई टाढा राख्ने, बालबालिकाहरुको अगाडि अभिभावकले यसको सेवन नगर्ने, सुर्ती वा गाँजा वा यस्ता चीजको सट्टा अरु खेती गर्ने, विज्ञापन र चलचित्रमा यसलाई बढावा हुने सामग्रीमा रोक लगाउने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनीरुपमै निरुत्साहित पार्ने ।
समाजमा पनि लागूऔषधमुक्त वातावरणको लागि सबैबाट, सधैं र सबैतिर जागरण अभियानको जरुरत छ । चिकित्सक र बिरामीहरुले पनि यस्ता औषधिहरुको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । नितान्त आवश्यक पर्दा चिकित्सकको निगरानीमा, त्यो पनि छोटो समयको लागि मात्र प्रयोग गर्नुपर्छ । सरकारले यसको उत्पादन, बिक्रीवितरण, ओसारपसार र प्रयोगसम्बन्धी नीति–नियम कडाइका साथ लागू गर्न र रोकथामका उपायहरु प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन जरुरी भएकोछ । सेवन गर्नेले छाड्ने तथा लत बसेको भए व्यक्ति, परिवार र साथीभाइले यसको उपाय उपचार गर्नेतिर लाग्नुपर्छ ।
व्यक्तिमा समस्याजनक हिसाबले नै यस्ता पदार्थको लत्, बानी वा दुव्र्यसन भएको स्थितिमा उपचारको आवश्यकता हुन्छ । सामाजिक र मनोवैज्ञानिक व्यवस्थापनको पनि साथमा महत्व रहन्छ । यी एक आपसमा प्रतिश्पर्धात्मक अंश नभई परिपूरक हन् । उपचार बिनाको पुनस्र्थापना र पुनस्र्थापना बिनाको उपचार प्रक्रिया अधूरो हुन्छ । उपचार बिना बिरलै मात्र यी पदार्थको अम्मल दिगो हिसाबले छाड्नसक्ने हुन्छन् ।
छट्पटी, तनाव, उदासिनता, व्यक्तित्वका समस्या लगायत् पागलपन र अरु मानसिक समस्या भएका धेरै मानिसहरु अझ बढी यसको लत्मा फँस्ने गर्छन् । यी तथ्यहरु ध्यानमा राखेर हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता तय हुन्छ र त्यसैअनुसार सुहाउँदो उपचार पद्दति अवलम्वन गर्दा फलदायी हुनेगर्छ । कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिहरुको चयन गर्न, यसबारे सहि जानकारी लिन र फेरिफेरि प्रयोग गरिने उच्च खतराका परिस्थिति चिनेर उपायहरु अबलम्बन गर्न मनोचिकित्सासेवा उपयोगी हुन्छ । यस्ता अधिकांश प्रयोगकर्तामा साथै हुने अरु शारिरीक र मानसिक समस्याहरुको उपचार गर्दा लागूऔषधको अम्मल छाड्न ठूलो सहयोग पुग्छ ।
जुनसुकै बहाना, कारण र परिस्थितिमा यसको सेवन छाड्ने कोशिस हुनु र छाड्नुलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । शुरुका दिनमा फेरि सेवन हुने डर भएकोले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप् गर्नु गराउनु र व्यक्तिको अम्मल छाड्ने उत्साह, उमङ्ग र साहस अभिवृद्धि हुने खालको कुराकानी र परामर्श दिनुपर्छ ।
अब उपरान्त व्यक्तिले यस्ता पदार्थ र पैसा साथमा राख्न छोड्नुपर्छ । प्रायः तलतल लाग्ने समय वा माहोलहरुमा अरु कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ । शारिरीक व्यायाम, खेलकुद, प्रार्थना, योग, वाक् आदि गर्नसकिन्छ । प्रशस्त झोलकुरा, सागसब्जी, मनपर्ने र पोषक खानाको सेवन पनि आवश्यक हुन्छ । यौटा अम्मल छाड्न अर्को नशाको सहारा लिनु भने श्रेयस्कर हुँदैन । यसको सेवनतिर धकेल्ने परिस्थितिहरु, जस्तैः साथीभाइ, जमघट, आदिमा बच्ने उपायहरुको खोजी गर्नुपर्छ ।
अम्मल त्याग्ने आफ्नो निश्चय र प्राणलाई बलियो बनाइराख्नुपर्छ । विभिन्न मनोवैज्ञानिक र सामाजिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थिति सामना गर्न, मन सकारात्मक बनाइराख्न र सामाजिक सञ्जाल कायम राख्न सघाइन्छ । लागूऔषधको दुव्र्यसनका विभिन्न औषधीहरु उपलव्ध छन् । कतिपय यी पदार्थको शरीरमा विस्थापन गर्ने औषधि हुन्छन् भने अरु औषधिहरु यसको तलतल र यसको प्रयोग छाड्दा हुने छट्पटी आदिमा फाइदा हुने खालका छन् । व्यक्तिको आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ । पुनस्र्थापना केन्द्रहरु देशका ठाउँठाउँमा खुलेका छन् जसमध्ये सम्बन्धित निकायबाट स्वीकृत, आवश्यक अनुगमन भएको र भरपर्दो केन्द्रबाट सेवासुविधा लिँदा उत्तम हुनेछ ।
नशा सेवन गरेर नानाखालका समस्या निम्त्याउनुभन्दा कहिले सेवन नगर्नु राम्रो । यसबारे सत्यतथ्य आफूले जानेर बुझेर र अरुलाई बुझाएर यसको प्रयोगलाई निरुत्साहित गर्नु उत्तम । सेवन गर्ने गरेको भए मनन् गरौंः कतै यस्ता पदार्थको सेवन कुनैपनि बेला आफ्नो नियन्त्रणबाट बाहिर गयो कि ? यसको मात्रामा कतौटी गर्नपर्ने महसुस हु“दाहु“दै बारम्बार चिप्लि पो रहेछ कि? आफ्नो यस्तो बानीका कारण अरुबाट आलोचित त भएको छैन ? मनमनै ग्लानी त हुँदैछैन ? सबै कुरा बिर्सेर आफूपनि आँखा खुल्नासाथ नशाको तलतलमा त फँसिँदै छैन ? आफू, आफन्त वा साथीभाइ आफ्नो पहुँचका जोसुकैमा यस्ता खालका सूचक लक्षणहरु भएमा ढिला नगरौं । नशा वा लागूऔषधको दुव्र्यसन आफैंमा एक गम्भीर बिमारी हो जसमा उपचारको आवश्यकता पर्छ । आजको यो दिनमा यो विकराल समस्याको रोकथाम, पीडितको उपचार र पुनस्र्थापनाका लागि सचेत भई अघि बढ्ने प्रेरणा लिऔं ।
