Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरिया जान नपाएको भन्दै युवाले पोखे आक्रोश, हप्तादिनभित्र निर्णय दिइने

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७८, बुधबार
कोरिया जान नपाएको भन्दै युवाले पोखे आक्रोश, हप्तादिनभित्र निर्णय दिइने

धरानः १५ महिनादेखि अनिश्चित बनेको दक्षिण कोरियाको रोजगारीबारे सरकारले एक हप्ताभित्र निर्णय लिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले कोरिया जान नपाएका युवाको ज्ञापनपत्र बुझ्दै एक हप्ताभित्र कोरिया रोजगारी के हुन्छ भन्ने निर्णय दिने बताएका हुन् । युवाहरुको गुनासो सुनेपछि रोजगार समन्वय महाशाखाका सहसचिव हरिप्रसाद मैनालीलाई श्रममन्त्रीले भने, ‘यसमा के–के गर्नुपर्छ गर्नु यहाँ उहाँ भन्ने कुरा छैन, तत्काल समाधान खोज्नु ।’
मन्त्रीको मौखिक निर्देशनलगत्तै सहसचिव मैनालीले पनि जवाफ दिइहाले, ‘यसअघि पनि धेरै पहल भएको हो । तर ठोस निर्णय नआइसकेपछि केही देखिएन । हजुर नयाँ हुनुहुन्छ, एकपटक हामी आन्तरिक रुपमा बसिसकेपछि हजुरले पनि कुरा बुझ्नुहुन् छ। अनि परराष्ट्रमार्फत पहल गरेर हुन्छ कि, अनि गर्नुपर्छ ।’
त्यसपछि मन्त्री श्रीवास्तवले भने, ‘ठीक छ, के–के गर्नुपर्छ त्यो तपाईंहरु गर्नुहोला । यी भाइहरुलाई एक हप्तापछि बोलाउने ।’
‘ठ्याक्कै समय तोक्नुभन्दा पनि पहिले हामी काम गरौँ अनि खबर गरौँला नि मन्त्रीज्यू’, सहसचिव मैनालीले जवाफ दिए।
श्रममन्त्री फेरिएपछि युवाहरुको टोलीले मंगलबार श्रम मन्त्रालयमै पुगेर अन्तिम निर्णय दिन माग गरेका हुन्।
‘हामीले तपाईंसहित तीन जना मन्त्री भेटिसक्यौँ तर हाम्रो समस्या सुनुवाइ भएन। अब त अति भयो, हुन्छ भने हुन्छ भन्नुस् हुँदैन भने हुँदैन भनिदिनुस्, अब नझुलाउनुस् मन्त्रीज्यू’, मन्त्रीको कार्यकक्षमै पुगेका अजय सोडारीले गुनासो पोखे । उनी भाषा पास गरेर पनि कोरिया जान पाएका छैनन् ।
गत वर्ष मार्चमा कोरोना महामारीका कारण सरकारले सबै देशमा उडान बन्द गरेसँगै दक्षिण कोरियाको रोजगारी रोकिएको थियो । सुरुमा आफ्नै सरकारले एकतर्फी रुपमा रोकेको रोजगारी अहिले कोरियाका कारण खुल्नसकेको छैन ।
नियमित ७ हजार र प्रतिबद्ध (पुनः त्यही कम्पनीमा जाने) ३ हजार श्रमिक जान नपाएको उनीहरुले बताएका छन् । रोजगारी खुल्ने नखुल्ने टुंगो नहुँदा उनीहरुले अरु काम समेत गर्नसकेका छैनन् ।
सोलुखुम्बुका पुरुषोत्तम पराजुलीले भने, ‘लामो समयदेखि अलपत्र भएर बस्नुपर्दा समय बर्बाद भयो, कोरियाको आशले अरु केही गर्न पनि सकिएन, अर्को देश रोजगारीमा जान पनि सकिएन। अरु केही गरौँ भने पनि कोरिया जाने सबै प्रक्रिया पूरा भइसकेको छ। नगरौँ, कहिलेसम्म यसरी बस्ने ?’
कोरोनाका कारण रोकिएका अन्य देशको रोजगारी खुले पनि दक्षिण कोरिया नखुलेको भन्दै उनीहरुले मन्त्रीसमक्ष चिन्ता पोखेका हुन् । लामो मिहिनेतपछि झण्डै एक लाखको प्रतिस्पर्धाबाट १० हजारले भाषा पास गर्छन् । तीमध्ये सबै प्रक्रिया पूरा गरेर कोरियाली रोजगारदाताको छनोटमा परिसकेपछि पनि रोजगारीको अझै टुंगो छैन ।
सरकारले पहल गरे जस्तोसुकै मापदण्ड पालना गरेर पनि कोरिया जान तयार रहेको युवाहरुले बताएका छन् । कोरियाको रोजगारी अनिश्चित बनेपछि युवाहरुले समिति नै तयार गरेर पहल गर्दै आएका छन् ।

प्रकाशित मिति: जेष्ठ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend