धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले विज्ञान सङ्कायमा पठनपाठन थाल्ने भएको छ ।
यस वर्षदेखि विज्ञान सङ्काय पनि भित्र्याएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यसअघि म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा अध्ययन अध्यापन हुने गरेको थियो, विद्यार्थीले विज्ञान सङ्काय पनि आइदिए हुन्थ्यो भनिरहेका थिए’, उनले भने, ‘त्यही भएर यो सङ्कायपनि भित्रयाउन लागिएको हो ।’
उनले परम्परागत तरिकाले भन्दा अलि फरक तरिकाले विज्ञान सङ्काय शुरुवात गर्न लागिएको जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीले यो सङ्काय पढेर डाक्टर कि इन्जिनियर बनुन् भन्ने हो’, उनले भने, ‘त्यो उद्देश्य पूरा गर्न हरतरहले लाग्नेछौं ।’ उनले सो सङ्कायका लागि डाक्टर र इन्जिनियरले विशेष कक्षा सञ्चालन गर्ने पनि जानकारी दिए । ‘कसरी डाक्टर बन्ने र कसरी इन्जिनियर बन्ने भन्नेबारेमा डाक्टर र इन्जिनियर बोलाएर विद्यार्थीका लागि विशेष कक्षा चलाउने तयारी गरिरहेका छौं ।’
उनले सो सङ्कायका लागि छुट्टै कोअर्डिनेटर बोलाइसकिएको जानकारी दिए । उनका अनुसार सो सङ्कायका लागि कलेजमै साइन्स ल्याबलगायतका संरचना तयार भइसकेको छ । म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा युएन, नवोदय ब्राण्ड बन्दै गएको र प्रदेश १ मै ‘टप’ नतिजा निकाल्दै आएकोले पनि आफूहरु विज्ञान सङ्कायमा पनि राम्रो गर्ने ध्येयले लागेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले बताए । ‘म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा हाम्रा विद्यार्थीले प्रदेश १ टप साथै देशभरमै पनि सेकेण्ड टपरसम्म बन्न सफल भइसकेका छन्’, उनले भने, ‘विज्ञान सङ्कायमा पनि उत्तिकै राम्रो नतिजा निकाल्ने ‘तारगेट’ मा हामी लागिसकेका छौं ।’
कलेजमा हाल बिएचएम र बिबिएस पनि पठनपाठन हुन्छ । यी सङ्कायमा पनि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् ।



