धरानः धरान-१२ स्थित धरान मेघा कलेजले यस वर्षदेखि कक्षा–११ र १२ पनि सञ्चालन गर्ने भएको छ ।
यसअघि कक्षा-१० सम्म विद्यालयस्तरीय पठनपाठन समेत हुँदै आएको कलेजमा यस वर्षदेखि खाद्य र पोषण, साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा पठनपाठन गर्ने तयारी गरेको छ ।
खाद्य र पोषण सरकारीस्तरमा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा मात्रै अध्ययन अध्यापन हुँदै आएको थियो भने निजी कलेज लेवल (प्लस टु लेवल) मा खाद्य र पोषण विषयको पठनपाठन हुने मा कहीँ पठनपाठन हुँदैन थियो । ‘खाद्य र पोषण निजीस्तरको कलेजमा नेपालमै कहीँ पठनपाठन नभएको विषय हो’, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले भने, ‘यो फरक विषय भएको र ‘भाष्ट’ साथै पढिसकेपछि विद्यार्थीले सहजै रोजगारी पनि प्राप्त गर्ने हुनाले विद्यार्थीको रुचि जाग्छ भन्ने विश्वास छ ।’
उनले कलेजले अत्याधुनिक र पूर्वाञ्चलको नमूना विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको उनले जानकारी दिए । ‘अन्य कलेज पनि घुम्यौं’, उनले भने, ‘ती कलेजको भन्दा फरक तरिका र पूर्वाञ्चलकै नमूना प्रयोगशाला बनाउने कोसिस गरिरहेका छौं ।’
यस वर्षदेखि बिबिएस पनि सञ्चालनमा आएको र पहिलो वर्षमै पूर्वाञ्चलमै धेरै विद्यार्थी (२२० जना) बिबिएसमा अध्ययनरत रहेको उनले बताए ।
कलेजका उच्च शिक्षा संयोजक चन्द्र वनेमले कलेजको प्रमुखमा धरान-१४ निवासी भाष्कर पौडेल नियुक्त गरिसकेको जानकारी दिए । ‘धरानस्थित विष्णु मेमोरियल कलेजबाट आफ्नो उच्च शिक्षाको अध्यापन थालेका उनको शिक्षा क्षेत्रमा अनुभव समेत संगालिसक्नुभएको छ’, उनले थपे, ‘नियुक्त हुनुभएका पौडेलले विष्णु मेमोरियलमा पूर्व संयोजक, काठमाडौंको ह्वाइटहाउस कलेजमा प्राध्यापन, अरनिको इन्टरनेशनल कलेजमा प्राध्यापन गरिसक्नुभएको छ ।’
नवनियुक्त क्याम्पस प्रमुख पौडलले उच्च शिक्षा अध्ययनका लागि काठमाडौलाई केन्द्र मानेर पढ्न जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय क्षेत्रमा नै शैक्षिक गुणस्तर कायम गर्न र धरानलाई शैक्षिक केन्द्र बनाउने उद्देश्यअनुरुप मेघा कलेज लाग्ने बताए ।
तस्वीरः हाम्रो कोशी आवाज








