धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईको निधन भएको छ । उनी ‘सूर्य सर’ नामले परिचित थिए । तरहरास्थित घरमै उनको निधन भएको हो ।
घरको छतमा रहेको पानी ट्याङ्कीमा हेर्न जाँदा चिप्लिएर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीचौकी तरहराका सई सहिददुखीराम माझीले घटनाको पुष्टि गरे ।
पाइपबाट पानी चुहिएको थाहा पाएर उनी पानीट्याङ्की भएको ठाउँमा पुगेका थिए । पाइपमा लिकेज भएको पानी हेर्न जाँदा छतमा लगाइएको प्लाइ भाँचिएर चिप्लिएर लड्दा उनी भुइँमा झरेका थिए । भुईं सिमेन्ट ढलाइ गरेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको टाउकोको पछाडिको भाग भुइँमा बजारिएको पाइएको प्रहरीले जनाएको छ । ‘माथिबाट सिमेन्ट ढलाइ गरेको भुईंमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको पाइयो’, सई चौधरीले भने, ‘शवको कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेका छौं ।’
६६ वर्षीय राई धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । उनी किरात राई यायोक्खा सुनसरीका संस्थापक सचिव, वर्तमान जिल्ला सल्लाहकार रहेको सचिव राजेन्द्र राईले जानकारी दिए । ‘२०४७ सालमा किराया जन्मिँदा उनी दुई कार्यकाल सचिव समेत भइसकेका व्यक्तित्व हुन्’, उनले भने, ‘स्थापनाकालदेखि संस्थापक सचिव समेत रहनुभएको छ, अकल्पनीय निधनको खबरले स्तब्ध छौं ।’
उनले तरहरा निवासी भएपनि धरानको विकासका लागि ठूलो योगदान गर्नुभएको व्यक्तित्व भएको बताए । ‘एउटा बौद्धिक व्यक्तित्व, सम्पत्ति गुमाएको आभाष भएको छ’, उनले थपे, ‘मृत आत्माको चिरशान्तिको कामना गर्दछौं ।’
छोराहरु विदेशमा रहेको र फर्केपछि अन्त्येष्टी गरिने परिवारजनले जानकारी दिएका छन् । उनको एक श्रीमती र दुई छोराहरु रहेका छन् ।