धरानः चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसीयु बेडहरु कोभिडका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ ।
मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन फिजिसियन डा. रक्षा गौतमले बताइन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताइन् ।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उनले बताइन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लु निको हुने उनको भनाइ छ ।
सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लुसमेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लुका लक्षण देखिए पनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरे ।
रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यानसमेत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरे ।
‘यी दुवैको लक्षण उस्तै हुन्छ । तर मौसमी रुघाखोकीभन्दा तुलनात्मक रुपमा मौसमी फ्लु कडा हुन्छ । फ्लु हुँदा मानिसमा अचानक ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, स्वास प्रश्वासमा अपठ्यारो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता मुख्य लक्षण देखा पर्छन् । रुघाखोकीमा सामान्यतयाः नाकबाट पानी बग्ने, हाछ्यूँ आउने, घाँटी खसखस हुने, जस्ता लक्षण देखा पर्छन् ।’ उनले भनिन् ।
रुघाखोकी वा फ्लु खोकी, हाछ्यूँबाट सर्ने भएका कारण यस्ता व्यक्तिसँग ६ फिट दूरी कायम गरेर बस्नु पर्छ । हात जथाभावी नाक, मुखमा छोइरहने गर्नु हुँदैन । त्यसैगरी कुनै पनि व्यक्तिसँग अंकमाल गर्ने, हात मिलाउन गर्नु हुँदैन । हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्न सकिन्छ । बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ ।
सबै भन्दा महत्वपूर्ण कुरा यदी कुनै व्यक्ति संक्रमित भएको खण्डमा घर–परिवारका सदस्यबाट केही दिनका लागि टाढा वा छुट्टै बस्नु पर्छ । यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।