धरानः गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल-३’ को ग्राण्ड फिनाले आज हुँदैछ । आज हुने फिनालेमा चारजना मध्ये एकजना ‘दि भ्वाइस अफ नेपाल-३’ विजेता घोषित हुने छ ।
फिनालेमा टीम जिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई प्रतिस्पर्धा गर्दै छन् ।
फिनालेको लागि तयारी पुरा भइसकेको ‘दि भ्वाइस अफ नेपाल-३’ शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोरोनाका कारण फिनाले सीमित दर्शकहरुलाई राखेर द भ्वाइस अफ नेपालकै सेटमै कार्यक्रम सम्पन्न गरिनेछ ।
कोेरोेना खोप लगाएका दर्शकलाई मात्रै शो मा सहभागी गराइनेछ । माक्स पनि अनिवार्य गरिएको छ । शो का केही भागहरु रेकर्ड भइसकेको र नतिजा भने आज साँझ प्रत्यक्ष प्रसारणमा नै घोषणा गरिने उनले बताए ।
शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । दर्शकले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एकजना विजेता हुनेछ ।
आर्यन तामाङ
प्रतिस्पर्धी आर्यन तामाङ टिम दीपबाट फाइनलमा पुगेका हुन् । भारतको दार्जिलिङ घर भएका आर्यनले सेमी फिनालेमा बुटवलका गोविन पुनलाई भोटिङमा उछिनेर फाइनलमा प्रवेश गरेका हुन् ।
किरण गजमेर
किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन् । उनले सेमि फिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन् । रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो । तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो । जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए ।
तारा श्रीश मगर
टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगर फाइनलमा पुगेकी हुन् । काठमाडौंका सोनाम शेर्पालाई सेमि फाइनलमा पछि पार्दै उनले आफ्नो यात्रा सुरक्षित बनाएकी हुन् ।
ज्वाला राई
भोजपुरका ज्वाला राई टिम तृष्णाबाट फाइनलमा भिड्नेछन् । उनले सेमी फाइनलमा काठमाडौंकी अफ्रिता खड्गीभन्दा बढी भोट पाउँदै फाइनलमा पुगेका थिए ।
कभर गीत गाएर चर्चामा आएका ज्वालाले ‘कोच तृष्णा’को टिमबाट आफूलाई निखार्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।