Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘एसइई स्पीकर’

हाम्रो कोशी आवाज
साउन २३ २०७८, शनिबार
धरानमा ‘एसइई स्पीकर’

धरानः ‘एसइई स्पीकर धरान-२०७८ सिजन-१’ को ग्रान्ड फिनाले सकिएको छ ।
रयाडीकल लाइट नेपाल प्रालिको आयोजनामा भएको कार्यक्रम धरान–१३ स्थित वडा कार्यालयको सभाहलमा प्रतिस्पर्धापछि बिजेता घोषणा गरिएको थियो । ग्रान्ड फिनालेमा चन्द्र संस्कृत माविका दीपेन भण्डारी विजेता, शारदा बालिका नमूना माविकी रेजिना विक फष्ट रनरअप, ज्वालामुखी माविका अङ्कित ढुङ्गाना सेकेण्ड रनरअप भएका छन् ।
त्यस्तै, सव टाइटलतर्फ पब्लिक मावि फुश्रेका विनोद काफ्ले वेस्ट डिसिप्लिन, हिविस्कस बोर्डिङ स्कुलकी सदीक्षा राई वेस्ट पब्लिक च्वाइस, शिक्षा सन्देश पानबारीका मौसम पराजुली मोष्ट सिन्सियर र सरस्वती मावि पानबारीका अभिषेक राई मोस्ट एक्टिभको उपाधि जित्न सफल भएका छन् । बिजेताले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाएका छन् ।
धरानका कलेजदेखि काठमाडौंका कलेजसम्म छात्रवृत्ति
बिजेताले धरानका कलेजदेखि काठमाडौंका कलेजसम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवसर पाउने भएका छन् ।
बिजेताले काठमाडौंको जेभियर इन्टरनेशनल कलेजमा पूर्ण छात्रवृत्ति र धरानमा पढ्न चाहेमा युएन, नवोदय कलेजमा पूर्ण छात्रवृत्ति प्रदान गरिने रयाडीकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
यस्तै, फस्ट रनरअपले जेभियरमा ५० प्रतिशत छात्रवृत्ति र धरान मेघा कलेजमा पढ्न चाहेमा पनि ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
सेकेण्ड रनरअपले काठमाडौंको जेभियर र धरानको सुनाखरी एकेडेमीमा पढ्न चाहेमा ३० प्रतिशत छात्रवृत्ति पाउने जनाइएको छ । यस्तै, सब टाइटलतर्फ बिजेतामध्ये वेष्ट डिसिप्लिन र वेष्ट पब्लिक च्वाइसले धरानको सियोन स्कुलमा ४० प्रतिशत छात्रवृत्ति साथै वेष्ट सिन्सियर र मोष्ट एक्टिभले धरानको नेशनल एकेडेमीमा ५० प्रतिशत छात्रवृत्ति पाउने जनाइएको छ । जम्मा २० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा बाँकी रहेका १३ जनालाई धरानका कलेजमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ ।
वडाध्यक्षले पोशाक किनेर सिलाइदिने
कार्यक्रममा उपस्थित प्रमुख अतिथि वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले टप ७ लाई एक सेट कलेज पोशाक किनेर सिलाइदिने घोषणा गरे । ‘सहभागी ७ जना नै विद्यार्थीको प्रतिभा निखारिएको पाएँ’, उनले भने, ‘उनीहरुको सहजताका लागि यी ७ जना प्रतिभालाई कलेज पोशाक किनेर सिलाइदिने घोषणा गर्दछु ।’ उनले विद्यार्थीलाई कुन कलेज पढ्ने हो त्यसको पोशाकको स्याम्पल ल्याउन आग्रह गरे ।
निर्णायकहरु
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका थिए । २५ प्रतिशत फिल्ड भिजिट र ७५ प्रतिशत अङ्कका लागि अन्तिम प्रतिस्पर्धा भएको थियो ।
अतिथिहरु
कार्यक्रममा सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई, युएन नवोदय कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, सुमेधा एजुकेशन नेटवर्क प्रालिका अध्यक्ष सुरेन्द्र घिमिरे, विजयपुर बचत तथा ऋण सहकारी अध्यक्ष नविन सुब्बा, अमर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूमिराज लिम्बू, अमर सेवा समाजका उपाध्यक्ष भुवन राई, अमर सेवा समाजका सचिव गोपाल श्रेष्ठ ‘प्रयास’, वडा सदस्य कमला श्रेष्ठ, बागिना कला केन्द्र धरानका संयोजक तथा गायक भक्तिराज राईलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी अतिथिहरुले विद्यार्थीको प्रतिभाप्रति तारिफ गरेका थिए ।
प्रालिका अध्यक्ष कार्कीले शनिबार उत्कृष्ट–७ जना सहभागीलाई प्रतिस्पर्धामा उतारेको जानकारी दिए उनले विद्यार्थीको बोल्ने कलाको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । आगामी वर्ष एसइई स्पीकर प्रदेश १ सञ्चालन गर्ने उनले जानकारी दिए । कार्यक्रम रयाडीकलका हिमाल कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अमिषा रिसालले गरेकी थिइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: साउन २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend