धरानः एसइई स्पीकर धरान फष्ट रनर अप रेजिना विकलाई धरान-१२ स्थित धरान मेघा कलेजले प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।
बुधबार कलेजमा एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलले रेजिनालाई खदा लगाएर सम्मान गरे । रेजिना बुधबार नै कलेजमा म्यानेजमेन्ट विषय लिएर भर्ना भइसकेकी छिन् ।
रयाडिकल लाइट नेपाल प्रालि धरानले आयोजना गरेको एसइई स्पीकर धरानको गत साउन २३ गते भएको फाइनलमा ‘नेपालको विकासमा जलश्रोतको महत्व’ शीर्षकमा आफ्नो विचार ब्यक्त गरी रेजिना फष्ट रनर अप बनेकी थिइन् ।
धरान मेघा कलेज र रयाडिकल लाइटबीच फष्ट रनर अपलाई ५० प्रतिशत छात्रवृत्ति दिने सहमती भएपनि विद्यार्थीलाई हौसलास्वरुप ६५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको कलेजका एकेडेमिक डाइरेक्टर घिमिरेले जानकारी दिए ।
छात्रवृत्ति पनि पाएको र कलेजको शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने कलेजको उद्देश्य राम्रो लागेकोले आफू धरान मेघामा भर्ना भएको रेजिनाले बताइन् । रेजिनाले २०७७ सालको एसइई शारदा बालिका नमूना माविबाट दिएकी थिइन् । हालै प्रकाशित भएको एसइईको नतिजाअनुसार उनले ३ दशमलव ५५ जिपिए प्राप्त गरेकी छिन् ।