धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ पढ्ने (एसइई दिएका) विद्यार्थीलाई स्वागत गरिएको छ ।
विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सुनाखरीमा यस वर्षदेखि कक्षा–११ (प्लस टु) सञ्चालन गरेको छ ।
विद्यालयका प्रिन्सिपल मिलनकुमार राई, डाइरेक्टर प्रदीप राईलगायत, अध्यापकहरुले उनीहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले कम विद्यार्थी भर्ना गरेर गुणस्तरमा सक्दो जोड दिने बताए । ‘हामीले थोरै विद्यार्थी लिने तर गुणस्तरमा कञ्जुस्याइँ नगर्ने निचोड निकालेर थोरै विद्यार्थी लिने निर्णय गरेका छौं’, उनले भने ।
उनका अनुसार थोरै विद्यार्थी संख्या रहँदा पठनपाठनलगायत अन्य कुरामा पनि सहज हुने र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । उनले कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै सुनाखरीले प्राप्त गर्दै आएको सफलतालाई निरन्तरता दिँदै जाने बताए ।
सुनाखरीले प्लस टु पढाई सकेर जाँदा विद्यार्थी सक्षम हुने किसिमले आफूहरु लागिपरेको बताए । उनले आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिने बताए । ‘हाम्रा विद्यालय तहका विद्यार्थी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा (कराँते, ब्याडमिन्टन, टेबलटेनिस, नृत्यलगायत अतिरिक्त क्रियाकलाप) मा हारेका छैनन्, त्यस्तै, कलेज लेवलमा पनि नहार्ने बनाउनका लागि पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि फोकस दिँदै अघि बढ्छौं ।’
कार्यक्रममा बोल्दै नेपाल डाइरेक्टर प्रदीप राईले सुनाखरीले स्कुल लेवलदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकले मन जित्दै गएको बताए । ‘स्कुल लेवलमा हामीले अभिभावकबाट जुन विश्वास लिएका छौं, त्यसलाई नै कलेज लेवलमा पनि निरन्तरता दिनेछौं ।’ उनले भने ।
कार्यक्रममा अध्यापक आनन्द सुब्बा, सञ्चालक राज लिम्बू, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिवद्वय तिर्थ कार्की र भोला श्रेष्ठले पनि विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सुनाखरीमा यस वर्षदेखि कक्षा–११ सञ्चालनमा आएको हो । यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा अध्ययन अध्यापन हुनेछ । सुनाखरी २०४५ सालमा स्थापना भएको हो । २०६४ सालदेखि कक्षा ६,७, ८ शुरु गरेको एकेडेमीले २०६७ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
















