Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनको निर्णयले तनावमा विद्यार्थी

हाम्रो कोशी आवाज
भाद्र २ २०७८, बुधबार
धरानमा लकडाउनको निर्णयले तनावमा विद्यार्थी

प्रतिनिधिमूलक तस्वीर ।

धरानः धरानमा भदौ ४ गतेदेखि १० दिनसम्म पूर्ण र कडा लकडाउन गर्ने भनेर उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेसँगै विद्यार्थी तनावमा परेका छन् ।
धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु लकडाउनको निर्णयले तनावमा परेका हुन् । ‘४ गतेदेखि लकडाउन हुन्छ भन्ने समाचार आइरहेका छन्, हाम्रो परीक्षा के हुन्छ होला नि’, बिबिए पढ्दै गरेका युनेष भण्डारीले भने, ‘परीक्षाको बारेमा उपमहानगरपालिकाको केही निर्णय आएन त, यसले त करिब १२५ विद्यार्थी तनावमा छन् ।’
साउन २७ गतेबाट बिबिएको परीक्षा शुरु भएर भदौ १३ गते मात्रै सकिने क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए । यस्तै, एएलवीको भदौ ११ गतेबाट परीक्षा शुरु हुने र २५ गते सकिनेछ । भदौ ५ गते एमबिएसको इन्ट्रान्स परीक्षा सञ्चालन हुने क्याम्पस प्रमुख भण्डारीले जानकारी दिए । यस्तै, एमएडको १२ गतेदेखि परीक्षा हुने उनले जानकारी दिए । ‘खासमा केन्द्रीय तहले स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा गर्नू भन्ने निर्देशन छ’, क्याम्पस प्रमुख भण्डारीले भने, ‘तर यहाँ कडा लकडाउन भन्ने सुनिन्छ, हामी नै अन्यौलमा छौं, विद्यार्थी त झन् अन्यौल र तनावमा हुने नै भए ।’ यस्तै, बिएचएम, बिबिएको पनि परीक्षा चलिरहेको छ ।
उनले यस्ता परीक्षामा सहभागी हुन परीक्षार्थी विद्यार्थी इटहरीबाट समेत आउने जानकारी दिए । ‘विद्यार्थीको भाग्य, भविष्यको कुरा हुन्छ, परीक्षा होला कि नहोला सबैमा चिन्ता थपिएको छ, फोन आउन थालिसकेको छ, उपमहानगरपालिकाले केही निर्णय गरिदिएन भन्ने गुनासो आउन थालिसकेको छ, यसका लागि निर्णय गरिनुपर्छ ।’
धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले यस विषयमा केही निर्णय हुन नसकेको बताए । ‘परीक्षा त सकिएको होइन र ?’, उनले प्रश्न गरे ।
उनले परीक्षा चल्दै गरेको हो भने भरेसम्ममा केही निर्णय दिइने बताए । ‘हामीलाई त यस विषयमा जानकारी नै भएन, परीक्षा हुँदैछ भन्ने जानकारी नभएकोले निर्णय नभएको हो, भरेसम्ममा केही निर्णय हुन्छ ।’

धरानमा यसअघि नै लकडाउनको चर्चा चलेपनि कक्षा–१२ को परीक्षाबारे टियुले निर्णय नगर्दा लकडाउन गर्न नसकिएको उपमहानगरपालिकाले जनाएको छ । तर अहिले कक्षा–१२ को परीक्षा रोकिइसकेको छ । कक्षा–१२ को परीक्षालगायत अन्य परीक्षा नभएको भन्दै उपमहानगरपालिका लकडाउनको निर्णयमा पुगेको थियो । धरानमा कडा लकडाउनको अर्थ घरबाट कोही निस्किन पाउने छैनन् भने तरकारी पसलसमेत बन्द रहनेछ ।

प्रकाशित मिति: भाद्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend