धरानः धरान-१३ स्थित लोटस विद्या विहारका डाइरेक्टर तथा एनप्याब्सनका पूर्व अध्यक्ष गणेश राईले स्व. आमाको स्मृतिमा विद्यार्थीलाई सहयोग गरेका छन् ।
भारतको नागाल्याण्डको मोकोकचुङ्गमा रहेका नेपाली विद्यार्थीलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति स्थापना गरेको जानकारी दिए । स्व. आमा मनमाया राईको स्मृतिमा वर्षेनी १६ हजार रुपैयाँ प्रदान गर्दै आएको उनले जानकारी दिए । यसअघि कक्षा–१० मा अध्ययन गर्ने विद्यार्थीलाई सो छात्रवृत्ति दिइँदै आएको भएपनि यस वर्षदेखि कक्षा–१२ पढ्ने विद्यार्थीलाई प्रदान गर्दै आएको उनले जानकारी दिए । ‘सो क्षेत्रमा पढ्ने नेपाली विद्यार्थीले ‘हाइयस्ट’ नतिजा ल्याएको हुनुपर्छ भनिएको छ’, उनले भने, ‘ती विद्यार्थीलाई सो रकम प्रदान गर्दै आएको छु ।’
यसपटक छात्रा गीता तामाङले सो छात्रवृत्ति रकम पाएकी छिन् । साढे १ लाख रुपैयाँ भारतीय रुपैयाँ कोषमा जम्मा गरिएको र सो कोषबाट आएको ब्याजले छात्रवृत्ति प्रदान गरिँदै आएको उनले जानकारी दिए । सो रकम मन्दिर सञ्चालन समिति सार्वजनिक गोर्खा मन्दिरले प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै प्रदान गर्ने गरेको उनले बताए ।
आफू सो ठाउँमा जन्मिएको, हुर्किएको र दुःखका साथ पढेको हुनाले नेपालीहरुलाई सहयोग पुगोस् भनेर यस्तो कार्यक्रम आयोजना गरिएको उनी बताउँछन् । उनले यसअघि स्व. आमाकै स्मृतिमा पुख्र्यौली घरजग्गा रहेको खोटाङको दित्तेलमा भलिबल कोर्ट निर्माण गरिदिएका छन् । अहिले सो ठाउँमा फुटबलप्रेमी खेलाडीहरु खेल्नेलगायत प्रतियोगितात्मक कार्यक्रम समेत आयोजना हुँदै आएको छ ।










