धरानः किरात याक्थुङ चुम्लुङको ३३ औं स्थापना दिवस सुनसरीमा भव्यताका साथ शुक्रबार सम्पन्न भएको छ ।
कियाचु धरान, इटहरी, रामधुनी र बराहक्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कियाचु धरानमा भने लिम्बुवानको नक्सामा दीप प्रज्वलन गरिएको थियो साथै सामुदायिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको थियोे ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा श्री किरातेश्वर माविको कक्षा–६ मा अध्यनरत सन्दीया लिम्बू रहेकी छिन् । उनले २०७६ सालदेखि नियमितरूपमा इजरायल कल्याणकारी कोष छात्रवृत्ति पाइरहेकी छिन् । त्यसैगरी सोही विद्यालयमा कक्षा–९ मा अध्यनरत सञ्जय लिम्बूले कियाचु याक्थुङ सहयोग कोष छात्रवृत्ति पाए । उनले कक्षा–८ को परिक्षामा उत्कृष्ट अङ्क ल्याइ पास गरेका थिए ।
त्यसैगरी श्री शिक्षा निकेतन मावि धरान–२ को कक्षा–१० मा प्राविधिक इन्जिनियरिङतर्फ अध्यनरत लुङ्माफुङ आवजुङ लिम्बूले कियाचु याक्थुङ सहयोग कोष छात्रवृत्ति छात्रतर्फ पाइन् । उनले कक्षा–९ को परीक्षामा उत्कृष्ट अङ्क ल्याई पास गरेकी थिइन् ।
यसपालि भने कियाचुप्रति सकारात्मक उन्नति प्रगति चाहने र सही सल्लाह–सुझाव दिने अभिभावकहरुको नानीहरुलाई पहिलो प्राथमिकतामा राखी छनौट गरिएको कियाचु सुनसरी जिल्ला सदस्य स्वर्णिमहाङ फोम्बोले जानकारी दिए । कक्षा–९ र १० का छात्रछात्राले नगद रु पाँच पाँच हजार र प्रमाणपत्र पाए भने कक्षा–६ मा अध्यनरत सन्दिया लिम्बूले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
कियाचु केन्द्रीय सचिव योगेन्द्र पालुङ्वा, केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार हर्ष सुब्बा, कियाचु सुनसरी अध्यक्ष मोहनकुमार लिम्बूलगायतले शुभकामना मन्त्यब्य दिएका थिए । स्थापना दिवस कार्यक्रममा धरानभरी रहेका चुम्लुङकर्मी र याक्थुङ लिम्बू समुदायको उपस्थिती रहेको थियो । कार्यक्रम कियाचु धरान नगर अध्यक्ष पद्मा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।


