धरानः विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड परिपालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परिक्षा सञ्चालन गर्न माग राख्दै नेपाल विद्यार्थी संघले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
शुक्रबार विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ का कारण लामो समयदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नभईरहेको जनाउँदै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परीक्षा सञ्चालन गर्न माग राख्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई चारवटा आंगिक क्याम्पसका नेविसंघले संयूक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएको हो । मेयर राईलाई धरानका महेन्द्र बहुमुखि क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर विद्यापीठ र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसले ध्यानाकर्षण बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर राईले आम नगरबासीको मुख्य एजेन्डा नै विद्यालय कहिले खुल्छ ? भन्ने रहेको र अब विस्तारै विद्यालय खुला हुने बताए । यस विषयलाई धरान उपमहानगरपालिकाले गम्भिरतापूर्वक लिइरहेको मेयर राईले बताए । धरान उद्योगी व्यवसायीको शहर नभएको बताउँदै शैक्षिक शहर रहेको मेयर राईको भनाई थियो । धरानलाई शैक्षिक पर्यटनको रुपमा विकास गर्न सकिने मेयर राईले बताउनुभयो । मेयर राईले विद्यार्थी संगठनलाई नारा, जुलुस भन्दा पनि रचनात्मक काम गर्न पनि सुझाव दिए । मेयर राईले सबै विद्यार्थीहरुमाँझ कोरोना विरुद्धको खोप प्रक्रियागत रुपमा उपलब्ध गराउने प्रतिवद्धता पनि जाहेर गरे ।
महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ कार्यवाहक सभापति दोर्ची शेर्पाले शैक्षिक क्षेत्रहरु कोरोनाका कारण लामो समयदेखि प्रभावित भएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमै विद्यालय सञ्चालन तथा परीक्षा सञ्चालन गर्न माग गरिएको बताए । कावा सभापति शेर्पाले आम नागरिकलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने सरकारको नीतिअनुसार उपलब्ध खोप सबै विद्यार्थीहरुलाई लगाउन पनि माग गरिएको जानकारी दिए ।
धरानका शैक्षिक प्रतिष्ठानहरुमा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड परिपालना भए, नभएको धरान उपमहानगरपालिकाले समय समयमा अनुगमन गर्न पनि आवश्यक रहेको काबा सभापति शेर्पाले बताए ।