धरानः धरानमा पनि कक्षा-१२ को परीक्षा आज (बुधबार) देखि शुरु भएको छ । कोरोना महामारीका कारण परीक्षा रोकिएको थियो । सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । खोप दिएर कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने बाटो खुला गरिएको हो ।
धरानमा परीक्षामा निकै कडाइ गरिएको छ । माथिकै निर्देशनमा पत्रकारलाई समेत परीक्षा कोठामा छिर्न नदिइने भन्ने निर्देशन छ । ‘माथिबाटै पत्रकारलाई कक्षाकोठामा छिर्नै नदिनू भन्ने निर्देशन छ’, एक कलेजका प्राचार्य भन्छन्, ‘त्यही भएर तस्वीर बाहिरबाट लिएर फर्किनू ।’ यसपटक होम सेन्टर अर्थात् विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था रहेको हुनाले पनि कडाइ गरिएको उनको भनाइ छ । यस्तै, स्वास्थ्यमापदण्डमा पनि कडाइ गरिएको पाइएको छ ।
बुधबारदेखि शुरु हुने परीक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो ।
माध्यमिक तहको अन्तिममा लिइने कक्षा–१२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियोरु। बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको छ । पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको जनाइएको छ । सबै परीक्षा केन्द्रले हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्य रुपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज



