Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा असोज ४ गतेदेखि स्कुल लाग्ने

हाम्रो कोशी आवाज
भाद्र ३० २०७८, बुधबार
धरानमा असोज ४ गतेदेखि स्कुल लाग्ने

धरानः धरानमा असोज ४ गतेदेखि स्कुल खोल्ने तयारी थालिएको छ । असोज ४ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा उपमहानगरपालिका लागेको छ ।
धरानमा असोज ४ गतेदेखि विद्यालय सञ्चालनबारे छलफल चलिरहेको मेयर तिलक राईले बताएका छन् । उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिने जानकारी दिए । ‘खासमा अनलाइन कक्षाले विद्यार्थीको सिकाइ उपलब्धि खस्किँदै गएको पाइएको छ, धेरै अभिभावकको गुनासो छ, घरमा अनलाइन कक्षा लिएपनि विद्यार्थीको पठनपाठनमा सुधार भएन, त्यही भएर भोलि (बिहीबार) बस्ने कार्यपालिकाको बैठकले स्कुल खोल्नेबारे निर्णय गर्नेछ ।’
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले संस्थागत विद्यालयका संघसंस्था (प्याब्सन, एनप्याब्सनलगायत), सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थीका संघसंगठन लगायतले सरोकारवालाहरुबाट स्कुल खोलौं भन्ने माग भएको र धरान उपमहानगरपालिका समेत सकारात्मक देखिएको हुनाले सल्लाह, सुझाव, गुनासा वा प्रतिक्रिया भए लिखितरुपमा पेश गर्न भनिएको बताए ।
मेयर राईले भने, ‘स्वास्थ्यभन्दा ठूलो शिक्षा नभएपनि लामो समय शैक्षिक क्षेत्र बन्द हुँदा अभिभावकहरू पीडित छन्, विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर परेको छ,’ उनले थपे, ‘अभिभावकहरू आफ्नो काममा हिँडिरहेका छन्, विद्यार्थीहरु घरमा अनलाइन कक्षा लिइसकेपछि खेलेर, साथीभाइसँग घुमेर दिन बिताइरहेका छन् । त्यही भएर विद्यार्थीको भविष्यको लागि १० दिन भएपनि १५ दिन भएपनि विद्यालय जसरी सञ्चालन हुनैपर्दछ ।’ उनले भोलि बस्ने कार्यपालिकाको बैठकले स्कुल खोल्ने र शुल्क निर्धारणबारे निर्णय गर्ने जानकारी दिए ।
अभिभावक संघले बुझायो सुझाव
अभिभावक संघ, नेपाल धरान उपमहानगर समितिले एक सुझाव र ध्यानाकर्षणपत्र बुझाएको छ । अनलाइनको शुल्क निर्धारण र विद्यालय सञ्चालनको विषयमा ध्यानाकर्षण तथा सुझावपत्र बुझाएको हो । मेयर तिलक राईलाई भेटी सो पत्र बुझाइएको थियो । ध्यानाकर्षणपत्रमा विद्यालयहरुले महामारीको समयमा ४० प्रतिशतसम्म शुल्क लिएको गुनासो गरिएको छ ।
अभिभावक संघले शुल्क नबढाउन र शुल्क बढाउनेलाई कारवाही गर्न माग समेत गरेको छ । ‘संघले स्कुल खोल्दै नखोल्ने भन्ने पक्षमा छैन, महामारीको समयमा ४० प्रतिशतसम्म शुल्क वृद्धि भएको छ, यसका लागि उपमहानगरपालिकाले अनुगमन गरी कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो’, संघका अध्यक्ष विकास भाटीले भने ।
यस्तै, धरान उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय लगाउने भनेर सुझावपत्र माग गर्न थालेपछि संघले १५ दिनको लागि र दशैंको छेकमा स्कुल नखुलाएको भए हुन्थ्यो भन्दै मेयरलाई सुझाव दिएको सचिव विनोद तिम्सिनाले जानकारी दिए ।
‘१५ दिन विद्यालय सञ्चालन गरेर के उपलब्धि हासिल हुन्छ, विद्यार्थीहरूले पढ्ने दिन धेरै छैन । किनभने असोज २१ गते घटस्थापनाबाट दशैं विदा शुरू हुँदैछ । त्यसपछि प्रायः स्कुल एक महिनाका लागि स्वतः बन्द हुनेछन् ।’ उनले भने, ‘त्यही भएर चाडबाड पछाडि संक्रमणको अवस्था हेरेर स्कुल सञ्चालन गरौं भन्ने हाम्रो माग हो ।’
उनले दशैंअगाडि १५ दिन कक्षा चलाउन पाइए आधा वा त्योभन्दा कम शुल्क लिइरहेका स्कुलले एक महिनाको पूरै शुल्क लिन पाउने र अभिभावकहरूबाट दशैं–तिहार खर्च जुटाउन सकिएला र स्टाफ, शिक्षक र भाडा तिर्न सकिएला भनेर स्कुल खोल्ने धारणा स्कुलहरुले बनाएको आरोप लगाए ।

प्रकाशित मिति: भाद्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend