धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा असोज ४ गतेदेखि स्कुल नलगाउने निर्णय गरेको छ ।
यसअघि उपमहानगरपालिका आफैं सकारात्मक रहेको र स्कुल लगाउने तम्तयारीमा लागेको थियो । बिहीबार बसेको कार्यपालिकाको बैठकले चाडबाड (दशैं, तिहार) अघि विद्यालय नलगाउने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तम्तयारीमा थियो । दशैं–तिहार आइसकेको र चाडबाडमा विद्यालयहरु विदा हुने अवस्था रहेको, कोरोना भाइरसको संक्रमण हालसम्म हटिनसकेको, बालबालिकाहरूलाई कोरोनाविरूद्धको भ्याक्सिन समेत नलगाएको र स्वास्थ्य मन्त्रालयबाट समेत विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्न हतार नगर्न विज्ञप्ति समेत जारी गरेको विषयलाई मध्यनजर गर्दै दशैं–तिहार पछिमात्र भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको उपमहानगपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।
यस्तै, अनलाइन कक्षाको शुल्क पनि निर्धारण भएको छ । अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएमा विद्यार्थीहरुबाट मात्र मासिक शुल्क ७० (सत्तरी) प्रतिशत मासिक शुल्क लिन पाउने निर्णय भएको छ ।

यस्तै, आधारभूत तहमा (कक्षा १ देखि ८) मा स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन गराउनुपर्ने भएकाले सह प्राध्यापक राजेन्द्र शर्माको संयोजकत्वमा गठन गरेको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले तयार गरी पेश गरेको कक्षा १ र ६ को पाठ्यक्रम स्वीकृत गरी चालु शैक्षिक सत्रबाट लागू गर्ने निर्णय भएको छ ।
यसअघि संस्थागत विद्यालयका संघसंस्था (प्याब्सन, एनप्याब्सनलगायत), सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थीका संघसंगठन लगायतले सरोकारवालाहरुबाट स्कुल खोलौं भन्ने माग गरेका थिए भने धरान उपमहानगरपालिका समेत सकारात्मक देखिएको थियो । उपमहानगरपालिकाले सल्लाह, सुझाव, गुनासा वा प्रतिक्रिया भए लिखितरुपमा पेश गर्न समेत भनिएको थियो ।
यसैबीच अभिभावक संघ, नेपाल धरान उपमहानगर समितिले एक सुझाव र ध्यानाकर्षणपत्र बुझाएको थियो । संघले शुल्क निर्धारण गर्न माग समेत गरेको थियो ।
