Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एम्स एकेडेमीमा छात्रछात्राको विदाइ

हाम्रो कोशी आवाज
असोज १२ २०७८, मंगलबार
एम्स एकेडेमीमा छात्रछात्राको विदाइ

धरानः धरान-१२ स्थित एम्स एकेडेमी तथा नेशनल बहुमुखी क्याम्पसमा विद्यार्थीको विदाइ कार्यक्रम आयोजना गरिएको छ ।
धरान-१९ स्थित ब्रिटिस कम्युनिटी हलमा आयोजित कार्यक्रममा कक्षा–१२ मा अध्ययनरत विद्यार्थीको विदाइ गरिएको हो । यसअघि कोरोनाको खोप लगाएपछि उनीहरुको लागि कक्षा-१२ को परीक्षा होम सेन्टरमै आयोजना गरिएको थियो ।
कलेजका प्रिन्सिपल मित्र तामाङ, शैक्षिक निर्देशक नेत्र सुवेदी, कार्यक्रम संयोजक दुर्गा सुवेदी, सञ्चालक नविन राई, प्रशासनिक संयोजक सन्तोष कोइराला, च्याम्पियन स्कुलकी प्रिन्सिपल नाजु सुवेदीलगायत अध्यापकहरुले अविर, खदा र मायाको चिनो प्रदान गरी विदाइ गरेका थिए ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण विदाइ र स्वागत कार्यक्रम गर्न नपाएपनि यसवर्ष समयमै सञ्चालन गर्न सकिएको मिडिया कोअर्डिनेटर हेमन्त भण्डारीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीले गीत र नृत्य पनि पस्किएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी र नृत्य निर्देशक तथा धरान नृत्य प्रतिष्ठानका अध्यक्ष मणिकुमार राई, उपाध्यक्ष नगेन्द्र राईलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक सुवेदीले एम्स र नेशनल बहुमुखी कलेज गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको बताए । ‘एम्स एकेडेमीले एकेडेमिक फड्को मारेको छ’, उनले भने, ‘आगामी दिनमा गुणात्मकरुपमा अगाडि बढाउँदै लैजान्छौं ।’
उनले कक्षा प्ले ग्रुपदेखि मास्टरसम्म एम्स र नेशनल बहुमुखीमै पढ्ने वातावरणका साथ आफूहरु लागिपरेको बताए ।
आगामी वर्षदेखि मास कम्युनिकेशनमा कक्षा–११ र १२, होटल म्यानेजमेण्टमा कक्षा–११ र १२, साथै कानुन विषयमा पनि अध्यापन थालिनेछ । उनले मुख्य भवन रहेको अगाडिपट्टि करिब चारकट्ठा जमीनसहितको भवनमा ६ कोठे आधुनिक कक्षाकोठा निजी लगानीमा शुरुवात गरिएको जानकारी दिए । त्यस्तै, चारवटा रुममा ल्याब सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए । ‘हामी आगामी दिनमा एम्सलाई धरानको प्रमुख गुणस्तरीय शिक्षा दिने शैक्षिक थलो निर्माण गर्ने उद्देश्यका साथ लागिरहेका छौं’, उनले भने, ‘यसका लागि सबै संरचनालगायतको काम अन्तिम चरणमा छ, अब एम्समै कक्षा प्ले गु्रपदेखि मास्टरसम्म पढ्न पाइनेछ ।’
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक दुर्गा सुवेदीले टिकटकलगायत सामाजिक सञ्जालमा बढी ध्यान नदिन विद्यार्थीलाई आग्रह गरे । ‘हामी सोंच्छौं र बनाउँछौं भविष्यका कर्णधार विद्यार्थी, त्यसैले टिकटकलगायत सामाजिक सञ्जाललाई कम ध्यान दिँदै भविष्य सोचेर विद्यार्थीले अघि बढ्नुपर्छ, नत्र भविष्य नै डामाडोल हुने अवस्था आउन सक्छ ।’
एम्सले गुणस्तरीय शिक्षा र अनुशासनमा ध्यान दिने बताउँदै उनले अभिभावकलाई पनि छोराछोरीप्रतिको अनुशासनलगायतका कुराहरुलाई बेलैमा ध्यान दिन सुझाए । ‘हामी अभिभावक, विद्यार्थीका लागि कलेज फिमा ‘कम्प्रोमाइज’ गरिदिन्छौं तर गुणस्तरीय शिक्षा र अनुशासनमा कम्प्रोमाइज गर्दैनौं ।’ उनले भने ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले शिक्षाभन्दा ठूलो कुरा केही नभएको बताए । प्रिन्सिपल मित्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अध्यापक सन्तोष कोइरालाले गरेका थिए । कार्यक्रममा विद्यार्थीले पनि आफ्नो धारणा राखेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend