धरान: साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेल नेपालले जितेको छ । सोमबार माल्दिभ्समा भएको खेलको सुरुआतमा फितलो देखिएको नेपालले खेलमा शानदार ३ गोल गर्न सक्यो । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक जित हासिल गरेको छ।
सुरुमा श्रीलंकाले राम्रो खेलेपनि खेलको ३० औं मिनेटमा नेपालले गोलको खाता खोल्यो । नेपालका लागि सुमन लामाले पहिलो गोल गरे । पहिलो हाफमा नेपाल १-० ले अगाडि रह्यो ।
दोस्रो हाफमा भने गोलको वर्षा नै भयो । खेलको ५१ औं मिनेटमा अञ्जन बिष्टले नेपालका लागि दोस्रो गोल गरेका हुन् । खेलमा २-० को अग्रता लिएको नेपालले त्यसको ६ मिनेटमा गोल खायो । श्रीलंकाका मार्भिन ह्यामिल्टनले ५७ औं मिनेटमा जवाफी गोल फर्काए ।
तर खेलको ८६औं मिनेटमा नेपालका लागि आयुष घलानले नेपालका लागि तेस्रो गोल गरे । श्रीलंकाका लागि डेलन डिसिल्भाले अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गरेर अन्तर घटाए पनि नेपालले अन्तत: खेल ३-२ ले जित्यो।

साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। यसअघि श्रीलंकालाई नेपालले सन् १९९९ को प्रतियोगिताम हराएको थियो।
खेलमा शानदार प्रदर्शन गरेका अञ्जन बिष्ट म्यान अफ द म्याच चुनिए ।
खेल जितेसँगै नेपालले फाइनलमा स्थान बनाउने सम्भावना बढेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकालाई हराउनु चुनौतीपूर्ण रहेको बताएका थिए । यसअघि आयोजक माल्दिभ्सलाई हराएको नेपाल प्रतियोगिताको दाबेदार पनि हो ।
जितसँगै नेपाल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार अंक भएको बंगलादेश दोस्रो स्थानमा रहेको छ । भारतको एक अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंकाले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।
लगातार दुई खेल हारेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।