धरानः जापानले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल बनाएको हो ।
यो बाइकमा उडेर यात्रा गर्न चाहने हो भने करिब आठ करोड १६ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने छ । जापानमा यसको मूल्य ६ लाख ८० हजार डलर तोकिएको छ ।
होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध गराएको निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले अब कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ ।
कम्पनीको लगानीकर्ता मित्सुबिसी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा रहेको बीबीसीले जनाएको छ । एक पटक चार्ज गरेपछि यो बाइक एक सय किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने पनि कम्पनीले जनाएको छ ।
आउँदो वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने तीन सय केजी तौल भएका दुई सय वटा होभरबाइक उत्पादन गर्ने पनि उक्त कम्पनीले जनाएको छ ।