धरानः धरान–६ स्थित पानबारीमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
सिएसडिसीको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा तीन पुस्ताबाट २५ जनाको सहभागिता थियो । कार्यक्रममा यसअघिको पुस्ता कस्तो थियो र यहाँ आइपुग्दा कस्तो परिवर्तन भयो आदिबारे छलफल भएको थियो ।
पुस्ताबीचको खाल्डोमा कसरी हातेमाले गर्ने भन्नेबारेमा विशेषतः जोड दिइएको सहजकर्ता पुष्पा कटुवालले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विशेषतः बाल विवाह, महिनावारी, प्रजनन स्वास्थ्य, निर्णय प्रक्रियामा छोरीहरुको संलग्नता र अहिले कस्तो परिवर्तन भएको छ आदिबारे छलफल चलेको थियो । ‘पहिलेको पुस्ता र अहिलेको पुस्ताबीच ग्याप छ नै तर पनि त्यो ग्यापलाई कसरी पुर्ने र आगामी दिनमा के गर्न सकिन्छ भनेर निचोडमा पुग्दै कार्यक्रम सकियो’, उनले भनिन् ।
उनले पहिला र अहिलेमा धेरै परिवर्तन आएको छ बताउँदै भनिन्, ‘हाम्रा घर–घरमा पुरानो र नयाँ पुस्ताकाबीचको दूरी निरन्तर बढिरहेछ । नयाँ पुस्ता संसारका आधुनिक प्रविधि वा अन्य धेरै कुरासँग सम्पर्कमा छ, हाम्रा पुराना मूल्य–मान्यताले त्यसलाई बाँध्न सक्ने स्थिति छैन, त्यसैले पुस्तान्तरको ग्यापलाई चिर्दै कसरी हातेमालो गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना भएको हो ।’
कार्यक्रममा पहिलो पुस्ताले १५ वर्षमै विवाह गरिदिने, परिवार नियोजनका साधन नहुने साथै निर्णय गर्ने क्षमतामा कमी हुनाले जति सन्तान भएपनि ईश्वरको बरदान भन्दै हात थाप्ने, महिनावारी २२ दिनसम्म नियमित बार्नुपर्ने चलन रहेको बताएका थिए ।
त्यस्तै, दोस्रो पुस्ताले १७ वर्षमा विवाह गर्ने, निर्णय क्षमतामा विकास साथै परिवार नियोजनका अस्थायी साधनबारे थोरै ज्ञान भएको बताएका थिए । तेस्रो पुस्ताले शिक्षामा पहुँच भएको, महिनावारीबारे अझै केही अनभिज्ञ भएपनि सुधार भएको, बालविवाह बढी भएको, वडातहमा बालबालिका समेटिन थालेकोले जनचेतना बढ्दै गएको, विवाह २० वर्षमै हुनुपर्छ भन्ने धारणा बन्दै गएको र परिवार नियोजनका साधनबारे ज्ञान हुँदा दुई सन्तान नै ठीक भन्ने धारणा समेत बढ्दै गएको पाइएको सहजकर्ता कटुवालले जानकारी दिइन् ।


