Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा माओवादीः अझै पदाधिकारीको टुंगो नै लागेन

हाम्रो कोशी आवाज
मंसिर २९ २०७८, बुधबार
प्रदेश १ मा माओवादीः अझै पदाधिकारीको टुंगो नै लागेन

केन्द्रीय नेता ‘ब्याक’, सुनसरीका मुक्सामहाङ मेन्याङ्बोसहितको नेताको अध्यक्षमा दाबी
विराटनगरः विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन ।
अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन) ले समितिको पहिलो बैठकमा आफूहरु ‘ब्याक’ हटेको बताएका थिए ।
तीनैजना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
केन्द्रीय सदस्यहरुत्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । सो प्रस्तावमा सबै सदस्यहरुले समर्थन गर्दै ताली बजाएका थिए । पदाधिकारीहरुको नाम समेत प्रस्ताव हुनसक्ने आंकलन गरिरहेका बेला बैठकका सञ्चालक तथा प्रदेशका सहइन्चार्ज सावित्री कुमार काफ्लेले कार्यदल प्रस्ताव गरेपछि केही बेर हल्लीखल्ली मच्चिएको थियो ।
काफ्लेले हल्लाकै बीच नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको छ । सो कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ । सो प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ ।
प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश) को अध्यक्षतामा सञ्चालन भएको थियो । आजको बैठकले कमिटीको पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने, समसामयिक प्रस्ताव पारित गर्ने, बाँकी रहेका पालिका अधिवेशनलाई पूर्णता दिनेलगायतका विषयमा निर्णय गरेको छ ।

प्रकाशित मिति: मंसिर २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend