Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जो धरानको आश्रममा पढे, बढे अनि आत्मनिर्भर बनेर विदाइ हुँदाको त्यो क्षण

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
जो धरानको आश्रममा पढे, बढे अनि आत्मनिर्भर बनेर विदाइ हुँदाको त्यो क्षण

धरानः हुर्किएको छोरो कमाई गर्न वैदेशीक रोजगारीमा जाँदा परिवारले विदाइ गरेको क्षण जस्तै माहोल थियो सोमबार सरस्वती बाल आश्रममा । घर भनेपनि अभिभावक भनेपनि बालआश्रममै १८ वर्षसम्म बिताएर चार युवाहरु नयाँ जीवनको बाटो खोज्न आश्रमबाट बाहिरिँदै थिए । नाकबाट सिङ्गान चुहिने चारवर्षे बाल्यावस्थामा आएका उनीहरुलाई अहिले स्नातक तहसम्म पढ्दै गरेका बेला भावपूर्ण विदाइ गर्दा त्यस्तो महोल देखिएको हो ।
विदाइका बेला अनिल घिमिरेले भने, ‘हाम्रो घर यही हो आमा भनेपनि बुबा भनेपनि हाम्रो अभिभावक आश्रमका सञ्चालकहरु हुनुहुन्छ, उहाँहरुबाट अलग हुनुपर्दा घर, आमाबुवाबाट टाढा जानुपरेको फिल भइरहेको छ, यो दिन आउँछ भन्ने हामीलाई थाहा थियो, तर यो बाध्यता हो ।’ २२ वर्षीय अनिल अहिले महेन्द्र बहुमुखी क्याम्पसमा बिबिए पढ्दैछन् । उनी २०६३ मा ७ वर्षको हुँदा आश्रममा आएका थिए ।
आश्रमबाट समाजमा पुनस्र्थापना गर्ने उमेर पुगेका विशाल राई, राम परियार र अनिता परियारलाई पनि विदाइ गरिएको छ । १८ वर्षीय विशाल २०६७ मा आश्रममा आएका हुन् । प्लस टु उत्तीर्ण गरेका उनी धरानमा निजी पसलमा रोजगार छन् । २१ वर्षीय राम परियार महेन्द्र क्याम्पसमा बिबिएम पढ्दैछन् । उनी २६० मा आश्रम आएका हुन् । १९ वर्षीया अनिता परियारले प्लस टु पास गरेकी छिन् । २०६० मा आएकी उनले आश्रममा रहँदै व्यटिसियनको तालिम लिएकी थिइन् । उनी अहिले व्युटिपार्लरमा रोजगार प्रशिक्षक पनि हुन् ।
आश्रम बाहिर नयाँ जीवनको शुरुआतका लागि उनीहरुलाई जनही १ लाख ५० हजार रुपैयाँ विदाइकै अवसरमा प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको हातबाट प्रदान गरिएको छ । सो रुपैयाँ उनीहरुले नयाँ जीवका लागि व्यवसाय शुरुआत गर्न, अन्य आवश्यकतामा खर्च गर्न सक्छन् । सभामुख भण्डारीले भने, ‘तपाईहरुले नयाँ जीवन शुरु गरेपनि आश्रम तपाईहरुको घर हो, अभिभावक हो, तपाईहरुका आगामी दिनका कामले आश्रमको इज्जत प्रतिष्ठा बढोस् ।’ उनले नयाँ जीवनमा जुनसुकै रोजगारी, व्यवसायमा लागेपनि पढाइलाई भने निरन्तरता दिन आवश्यक रहेको सुझाव दिए । सभामुखले आश्रमलाई आफूले गर्नसक्ने सबै सहयोग गर्ने बचन पनि दिएका छन् ।

आश्रमका सदस्य विकास बनेपालीले आश्रमबाट विदाइ गरिएपनि उनीहरु सम्पर्कमा रहनेछन् । उनीहरुलाई डेरालगायतका आवश्यक सहयोग आश्रमले निश्चित समयसम्म जारी राख्ने बताए । आश्रमकी सल्लाहकार समाजसेवी सरला कायस्थले कालिम्पोङको एक आश्रमको चर्चा गर्दै बाल आश्रम शिक्षाको लागि प्रसिद्ध केन्द्रको रुपमा विकास हुनसक्ने उदाहरण दिइन् । उनले भनिन् ‘सरस्वती बाल आश्रम पनि त्यो अवस्थामा पुग्नसक्छ, सञ्चालक समितिमा केही गरेर देखाउने प्रतिबद्धता लिएर आएमा आश्रमको विकास सम्भव छ ।’
आश्रमकी पूर्व अध्यक्ष नैनकला न्यौपानेले आश्रमको भौतिक विकासका लागि सभामुखसँग सहयोगको आग्रह गर्दै दुईदेखि तीन तलाको सुविधायुक्त सभा हलसहित बाल–बालिका आवास भवन जरुरी भएको बताइन् । आश्रमका प्रबन्धक पूर्णप्रसाद फुयाँलले आश्रमबाट अहिलेसम्म ४७ जना बालबालिका उच्च शिक्षासहित उमेर पूरा गरी समाजमा पुनस्र्थापना भएको बताए । विदाइ भएका युवाहरुलाई सहभागीहरु उपहार तथा नगद रकमहरु प्रदान पनि गरेका थिए । सभापतित्व आश्रमका अध्यक्ष दानबहादुर राईले गरेका थिए । कार्यक्रम आश्रमका सदस्य हरिकुमार शाहीले सञ्चालन गरेका थिए । २०४८ सालमा स्व. कृष्णबहादुर शाहीको प्रयासमा स्थापित आश्रममा हाल २८ बालबालिका आश्रित छन् ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend