धरानः प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा भएको पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ ।
धरान-२ देशीलाइनस्थित होटल नवयुगमा भएको तालिमको समापन कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडी, केशव घिमिरे, अर्जुन शर्मा, रीता मोक्तान, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष एवम् सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई र महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेयङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।
पत्रकारिताको क्षेत्रमा लाग्नको लागि युवाहरुलाई उत्प्रेरित गर्न र पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । नयाँ जिल्ला समन्वय समिति बनेपछिको यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा पत्रकारिता क्षेत्रमा नयाँ र रचनात्मक कार्यक्रमहरु गरिने अध्यक्ष कार्कीले जानकारी गराए ।
तालिमको सहजीकरण कोशिपत्र राष्ट्रिय दैनिकका सम्पादक, महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सचिव देवेन्द्र कार्की र महासङ्घका केन्द्रीय सदस्य भीषण राईले गरे।
त्यस्तै, गत कार्तिक–१६ गते सम्पन्न सेन्टरको चौथो अधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले प्रमाणपत्र वितरण गरे । तालिम अवधिभर उत्कृष्ट अनुशासित सविता पुरी र उत्कृष्ट समाचार लेख्ने प्रकाश राईलाई प्रमुख अतिथी बरालले पुरस्कार प्रदान गरे । पुरस्कारको प्रायोजन धरान–१६ स्थित जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलले गरेको थियो । स्कुलका प्रिन्सिपल सुमन जवेगूले तालिम उद्घाटनको दिन पुरस्कारको घोषणा गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट पुष्पा कटुवाल, अंकित ढुङ्गाना, रेजिना लामिछाने र उपार्जुन चाम्लिङले तालिम अवधिभरको अनुभव सुनाए । अंकित ढुङ्गानाले तालिम उत्कृष्ट लागेको बताउँदै सिकेको कुरा सदुपयोग गर्ने ठाउँ पाएमा अझ प्रभावकारी हुने बताए ।
कार्यक्रममा प्रमुख अतिथी बराल, सेन्टरका केन्द्रीय सदस्यद्वय घिमिरे र रकेडी, माओवादी केन्द्रका प्रदेश न.१ का सदस्य आइन्द्रविक्रम बेघा, एम्स एकेडेमीका ब्यवस्थापन संयोजक दुर्गा सुवेदीलगायतले मन्तब्य राखे । कार्यक्रममा अखिल क्रान्तिकारीका १ प्रदेशका उपाध्यक्ष खेम रनपहेली माओवादी केन्द्रका स्थानीय युवा नेताहरु उद्वब लिम्बू, हिमाल कार्की, जीवन राई, रविन श्रेष्ठलगायतको उपस्थिति थियो । सेन्टरका जिल्ला कोषाध्यक्ष सविना राईले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन विनोद विश्वकर्माले गरे ।

