धरानः द भ्वाइस किड्स नेपालको फाइनालिस्ट रुक्सना लिम्बूलाई धरानमा स्वागत गरिएको छ ।
धरान–१५ स्थित बगरकोट लोक दोहोरी रेस्टुरेन्टमा जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको विभिन्न संघ–संस्थाद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा रुक्साना जिताऔं अभियानकी संयोजक मिना सिङ्घक र सागर सरगम चेम्जोङले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने लिम्बू मञ्चका तर्फबाट सञ्जोक हुक्पाचोेङवाङ र प्रदीप योङहाङ, सिल्भर इन्टरटेन्मेन्टको तर्फबाट सौरभ श्रेष्ठ र गायक एपी शेर्पा, केन्द्र मोसन पिक्चर्सको तर्फबाट टंक लिम्बू, याक्थुङ चलचित्रकर्मी संघ प्रदेश न. १ का तर्फबाट अध्यक्ष नविन मेन्याङ्बो र सिङ्घक समाजको तर्फबाट दिनेश सिङ्गकले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा रुक्साना जिताऔं अभियान धरानले एक वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । सो गीतमा शब्द मिना सिङ्घक लिम्बू र संगीत सेमिहाङ सिङ्घकको हुनेछ । त्यस्तै अभियानको समन्यवमा अहिलेको चर्चित म्युजिक कम्पनि केन्द्र मोसन पिक्चर्सले दुई वटा म्युजिक भिडियो निर्माण घोषणा, सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एक वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो भने राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनको तर्फबाट दुई वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । जसमा राजेश पायल राईको समेत स्वर तथा संगीत रहने छ ।
कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बाल कृष्ण सिंगकले सहयोगार्थ रु. दश हजारको चेक हस्तान्तरण गरेका थिए । त्यस्तै रुक्सनाको आगामी प्रोजेक्टको लागि ब्यबसायी टंक लिम्बूले रु. २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नविन मेन्याङ्बोले मन्तव्य राख्दै टाइटल जित्नु मात्रै ठुलो कुरा नभएर सम्पूर्ण संगीतप्रेमी नेपालीहरुको मन जितेर स्रोता दर्शकको माया पाउन सफल भएको बताए । लिम्बू समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको रियालिटी शोको फाइनल सम्म पुगेर आफ्नो समुदायको मान राखेको भन्दै आगामी दिनहरुमा पनि साथ सहयोग गर्ने बताए । साथै गायन सँगै पढाइलाई पनि निरन्तरता दिएर अघि बढ्न आग्रह गर्दै बधाई तथा शुभकामना दिए ।
रुक्सनाकी आमा रेखा लावती लिम्बूले रुक्सानाको लागि धरानको टिमले ठूलो सहयोग गरेको बताउंदै अझ रुक्सनको सांगीतिक भबिष्यको लागि समेत सबैसँग समन्वय गरि विभिन्न अवसर प्रदान गरिदिएकोमा धन्यवाद दिए । रुक्सना जिताऔं अभियानका संयोजक सागर सरगमले रुक्सनाको साङ्गीतिक क्षेत्रमा भविष्य सुन्दर रहेको पुष्टि भइसकेको भन्दै सो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै रुक्सना जिताऔं अभियान विधिगत रूपमा अन्त्य भएको घोषणा गरे ।





