कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेल (दायाँ) र पार्टी प्रवेश गरेका हिमाल कार्की ।
धरानः नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारले खुट्टा कमाइरहेको बताएका लगाएका छन् ।
नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले जेठ ४ गते मिति तोकेर स्थानीय तह निर्वाचनको सिफारिस गरेपनि सरकारले मिति घोषणा गर्न खुट्टा कमाइरहेको उनको भनाइ थियो । ‘जेठ ४ गते मिति घोषणा गर्न सरकारले खुट्टा कमाइरहेको छ, त्यसले लोकतन्त्रप्रतिको गठबन्धनको निष्ठालाई कमजोर बनाइरहेको छ, सबैले खबरदारी गर्नुपर्छ,’ उनले भने ।
उनले अध्यक्ष केपी ओलीमाथि आक्रमण र हमला भइरहेको बताउँदै भने, ‘ओलीले जे काम गरेपनि जनता र राष्ट्रको पक्षमा रहेको छ, त्यो देख्न नसक्नेहरुले आक्रमण र हमला गरिरहेका छन् ।’
उनले धेरै समय माधव नेपालका पक्षमा पनि बोलेका थिए । ‘हामीलाई लाग्थ्यो माधव नेपाल हरदम विधि, शासन र पद्दतिको पक्षमा कडा हुनुहुन्छ तर होइन रहेछ’, उनले थपे, ‘नेपालको इतिहासमा, संसदीय इतिहासमा सबैभन्दा बढी अनुशासन उल्लङ्घन गर्ने, विधि तोड्ने को हुन् भनेर खोज्यो भने माधव नेपाल हुन्, जसले संसदीय ह्वीपलाई पटक पटक तोड्ने खालको कामको अगुवाई गर्नुभयो, पार्टीकाविरुद्ध राष्ट्रपति कार्यालयमा जाने, अदालतमा मुद्दा लिएर जाने, पार्टीकाविरुद्ध कांग्रेससँग साँठगाँठ गर्ने नेताका रुपमा इतिहासले कसैलाई चिन्छ भने माधवलाई चिन्छ ।’ उनले भने ।
माधवले जनताले दिएको जनमतलाई लत्याएर कांग्रेसलाई सघाएको समेत बताए । ‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरे । कांग्रेसविरुद्धको जनादेशलाई कांग्रेसको पाउमा सर्मपण गरे, जनताको जनादेशविरुद्ध उभिएपछि अब कसैले सहानुभूति गर्नुपर्छ भन्ने छैन ।’
यसैबीच नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बूसहित सय जना माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका छन् ।
यस्तै, वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बूको नेतृत्वमा पनि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । यसैगरी, पूर्व माओवादी नेता एवं हाल एमाले प्रदेश कमिटी सदस्य पशुपति राई नुलामका अनुसार पूर्व बिग्रेड कमाण्डर सूर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गरेका छन् ।