धरानः औषधीय प्रयोजनका लागि नेपालमा गाँजा खेती गर्न मिल्ने गरी कार्यविधि ल्याउने तयारी थालिएको छ ।
सरकारसँग अनुमति लिएर औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सकिन्छ । गृह मन्त्रालयले यस्तो तयारी गरेको जनाइएको छ । गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको जनाइएको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । गृह मन्त्रालयले गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तर्जुमा गर्ने बताएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को २० नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तर्जुमा गर्ने उल्लेख गरिएको हो।
यसअघि लागू औषध नियन्त्रण ऐन, २०३३ ले समेत औषधीजन्य प्रयोगका लागि गाँजाको खेती गर्न तथा प्रयोग गर्न सकिने उल्लेख गरेको थियो।
लामो समयदेखि माग हुँदै आएको गाँजा फुकुवाको तयारीका लागि गृहले यो व्यवस्था गरेको विज्ञहरुको दाबी छ।
गाँजालाई लागूऔषधको सूचीबाट हटाउने वा राख्ने भन्ने विषयमा संयुक्त राष्ट्रसंघले आह्वान गरेको मतदानमा समेत नेपालले हटाउनुपर्ने पक्षमा मतदान गरेको थियो।