धरानः धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १४ जना कांग्रेस प्रवेश गरेका हुन् ।
राजकुमारी गजमेर, देविका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समिप खड्का, प्रशान्त राई, राजिव तामाङ, बिजु भुजेल, आषिश खान, सहनबाज खान, अनिष लिम्बू, अस्मित मगर, रेस्मा घिमिरे, देवीका राई कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, कांग्रेस सुनसरी जिल्ला सहसचिव गणेश सुब्बालगायत नेताहरु अविर र खदा लगाएर स्वागत गरेका थिए । श्याम श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कार्यक्रममा शुभकामना दिँदै खानेपानी समस्या समाधान गर्न अहोरात्र रुपमा खटिरहेको बताए । यसवर्ष माघ महिनादेखि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईले जनाए । मेयर राईका अनुसार खानेपानीको पाइप लाइनमा लिकेज भएकोलाई वेल्डिङ गरेर टाल्ने कामहरु पनि निरन्तर रुपमा भइरहेको छ । मेयर राईले भने, ‘खानेपानी संस्थान र ठेकेदार मात्र हुँदाखेरी महिनौं लाग्थ्यो बनाउन । अहिले हाम्रो कर्मचारीहरुले रातको समयमा पनि काम गरिरहेको छ । मेसिनरी सामग्रीहरुको मर्मत कार्य भइरहेको छ ।’ अहिले सुख्खा मौसमका कारण खानेपानीको समस्या रहे पनि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईको भनाई थियो ।
नगर सभापति श्याम पोखरेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरुको संयुक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वडाको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको जनाउँदै त्यहीअनुरुप धरानका धेरै वडाहरुमा टोल समिति गठनको प्रक्रिया अगाडि बढिरहेको बताए । सभापति पोखरेलले भने, ‘१४ औं महाधिवेशनपछि पार्टीको विधानमा टोल समिति गठन गर्ने भनेको छ । यसलाई तपाईहरुले चुनावी टोल समिति नसम्झिनुहोला । यो तपाईको ५ वर्षे पूर्ण कार्यकालको समिति हो । यो संगठन निर्माण र हाम्रो विधानत गर्नुपर्ने टोल समिति हो ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले धरानमा नेपाली कांग्रेसको आवश्यकता भएर नै उपनिर्वाचनमा कांग्रेसको विजय भएको बताए ।