धरानः धरान उपमहानगरपालिकाको १० औं नगर सभा भोलि (शुक्रबार) हुने भएको छ ।
बीपी प्रतिष्ठानको अडोटेरिएम हलमा शुक्रबार बिहान १० बजेदेखि नगरसभा शुरु हुने जनाइएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिकाको बैठकले जानकारी दिएको हो ।
चालु आर्थिक वर्षको ९ औं कार्यपालिकाको बैठकले उपमहानगरपालिकाको ९ औं नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुटसम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरी नगरपालिकामा दाखिला गर्न बाँकी बहाल कर गत असोज मसान्तसम्म जारिवाना छुट दिने भनिएकोमा आगामी चैत्र मसान्तसम्म जरिवाना छुट हुने व्यवस्था गरी १० औं नगरसभामा प्रस्ताव पेश गरिने जनाएको छ ।

यस्तै, नवौं नगर सभाबाट स्वीकृत विनियोजन ऐन २०७८ मा चालु आर्थिक वर्षका लागि अनुमान गरेको आन्तरिक आय अनुमानको तुलनामा सङ्कलन न्यून भएको र अनुमान गरेका जति सङ्कलन हुने सम्भावना नरहेकोले आन्तरिक आयबाट खर्च हुने गरी स्वीकृत गरिएका कार्यक्रम तथा योजनाहरुमा १० प्रतिशत घटाएर नगरसभामा पेश गरिने निर्णय गरिएको छ ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहहरुलाई प्रदान गरिएको आधारभूत तथा माध्यमिक शिक्षा लगायत शैक्षिक कार्यक्रमहरुको व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक शिक्षा ऐनको मस्यौदा कार्यालयबाट तयार भई कानुन मस्यौदा समितिबाट समेत सिफारिस भई आएको शिक्षा विधेयक २०७८ लाई स्वीकृत गरी नगरसभामा पेश गरिने निर्णय भएको छ ।
यस्तै, बैठकले सार्वजनिक सुनुवाइ कार्यविधि २०७८ स्वीकृत, पदाधिकारीहरुको आचारसंहिता २०७८ स्वीकृत, सार्वजनिक निजी साझेदारी विधेयक २०७८ नगरसभामा पेश गरिने निर्णय गरेको छ ।