धरानः धरानमा आगामी निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले नेपाल शिक्षक संघ धरान नगर समितिसँग बृहत छलफल गरेको छ ।
नगर सचिव जितेन्द्र राईका अनुसार बिहीबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा कांग्रेस धरान नगर समितिको संयोजनमा वैशाख ४ मा हुने स्थानीय तहको निर्वाचन लक्षित विषयवस्तु उपर नेपाल शिक्षक संघबीच बृहत छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, नेपाल शिक्षक संघ नगर सभापति आशबहादुर राई, सुनसरी क्षेत्र नं. १ (१) का सभापति अनिल श्रेष्ठ र १ (२) का सभापति मुरारी भट्टराईलगायत नेताहरुको उस्थिति रहेको थियो ।
छलफलमा नेपाल शिक्षक संघले निर्वाचनमा सही ढङ्गबाट मतदान कसरी गराउने ? भन्ने विषयमा प्रशिक्षण कार्यक्रम राख्न पार्टीलाई आग्रह गरेका थिए । साथै, उनीहरुले आगामी निर्वाचनमा सङ्घको अहम भूमिका रहने बताउँदै नेपाल शिक्षक सङ्घलाई सङ्गठनको दायरामा ल्याउन पनि माग राखेका थिए ।