धरानः राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धरान वडा नं. ११ का नेपाल तरुण दल कार्यसमितिले रक्तदान कार्यक्रम गरेको छ ।
मङ्गलबारे चौकस्थित शनिबार तरुण दलले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको तरुण दलका नेता सुवास राईले जानकारी दिए । कार्यक्रममा कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ (ख)का सभापति मुरारी भट्टराई, नेतृ पञ्चकला राईलगायतको उपस्थिति थियो ।
यस्तै, नेपाली कांग्रेस धरान नगर समितिले टोल संगठन विस्तार अभियानलाई तीब्रता देखाएको छ । नगर सभापति श्याम पोखरेललको उपस्थितिमा धरान वार्ड नं. १६ स्थित सीमाना टोलमा धनबहादुर श्रेष्ठको संयोकत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको नगर सचिव जितेन्द्र राईले बताए ।
सचिव राईले धरान १७ नं. वडा अन्तर्गत सप्तरङ्गी मार्ग टोल र शान्ति टोलमा समिति गठन गरिएको बताए । सप्तरङ्गी मार्ग टोल समितिमा सोमा जबेगुको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको छ भने शान्ति टोल समितिमा सूर्यबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको जनाएको छ ।
सचिव राईका अनुसार विधानमा उल्लेख भएबमोजिम कांग्रेस धरान उपमहानगर समितिको गत पौष १२ गते बसेको पूर्ण बैठकले पारित गरे बमोजिम यही फागुन मसान्तभित्र सबै टोल समिति गठन गर्ने गरी द्रुत गतिमा टोल समिति गठनमा सक्रिय रुपमा अगाडि बढेको छ । कार्यक्रममा कांग्रेस जिल्ला सचिव माधव घिसिङले समेत सम्बोधन समेत गरेका थिए ।