सुनसरीः सुनसरीमा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका ४ मा गाउँपालिका कार्यालय अगाडि पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करले इनरुवा ५ बस्ने वर्ष ३८ की निर्मला उराव मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
तीब्र गतिमा रहेको एम्बुलेन्सले उनलाई ठक्कर दिँदा उनको टाउकोमा गहिरो चोट लागेको थियो । जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्कुटीमा सवार रहेको र चालक समेत हुन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०२–०४१ प २१५५ नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०१–००१झ ००२८ नं को एम्बुलेन्सले ठक्कर दिएको थियो । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको जनाइएको छ । एम्बुलेन्स र चालक सप्तरी विषनपुर ५ बस्ने वर्ष २७ को सुनिलकुमार मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
विश्वकर्मा मन्दिरअगाडि दुर्घटना
यस्तै, धरान-८ विश्वकर्मा मन्दिरअगाडि बसको ठक्करले एकजना घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ख ८१६७ नं को बसले सोही दिशातर्फ जाँदै गरेको को ३४ प १४६७ नम्बरको स्कुटीलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा स्कुटी चालक धरान–१५ बस्ने वर्ष २८ की बालकुमारी आले मगर घाइते भएकी थिइन् । उनको अनुहारमा चोट लागेको छ । उनी धरानस्थित बीपी प्रतिष्ठानमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
बस र चालक झापा दमक ९ बस्ने वर्ष ३२ को घनश्याम शर्मा आचार्य प्रहरीको नियन्त्रणमा छन् ।
बुलेट र स्कुटी जुधे
यस्तै, धरान-८ सिद्धकाली चौकमा बुलेट मोटरसाइकल र स्कुटी जुध्दा दुईजना घाइते भएका छन् ।
कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–४३ प.५५६७ नम्बरको बुलेट मोटरसाइकल र इटहरीबाट धरानतर्फ आउँदै गरेको को२०प.२९३२ नम्बरको स्कुटी एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धरान–१५ श्यामचौक बस्ने वर्ष २४ को पदम मगरको बायाँ कुम र बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै, स्कुटी चालक धरान–१४ विजयपुर बस्ने वर्ष २३ को गोपाल अधिकारीको दाहिने हात र दाहिने खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । उनीहरुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।