धरानः सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोशी राजमार्गअन्र्तगत शनिबार बृहत रुपमा सरसफाई कार्यक्रम गरिने भएको छ ।
धरान उपमहानगरपालिकाको आयोजनामा फागुन १४ गते शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म बृहत सरसफाई कार्यक्रम गरिने भएको हो ।
बिहीबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको धरानका सामाजिक तथा जातिय संघसस्थाका प्रतिनिधिहरुसँग गरेको छलफलले शनिबार बिहान ७ बजे बेस क्याम्पमा भेला भई सरसफाई कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।
भेडेटार पुगेर खाना खाएपछि कोणसभा गरेर फर्किने कार्यक्रम तय भएको छ । उपमहानगरपालिकाका वातावरण शाखाका अनुसार कोशी राजमार्गअन्र्तगत सडकमा दायाँबायाँ फालिएका शिशाजन्य तथा प्लाष्टिकजन्य फोहोरहरु सङ्कलन गरी उठाइनेछ ।
नगर प्रमुख राईले ‘पानीको मुहानलाई सधै सफा राखौं, प्राकृतिक सम्पदाको सम्वद्र्धन गरौं, जथाभावी फोहोर नफालौं र सफा रहौं, स्वस्थ जीवन निर्वाह गरौं’ भन्ने सन्देशका साथ बृहत सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको बताए । कोशी राजमार्ग अन्तर्गत सर्दु जलाधार क्षेत्रमा दिशा, पिसाब र फोहोर नगर्न पनि सचेत गराइने उनले बताए । नगर प्रमुख राईले छलफलमा धरान १३ स्थित बेसक्याम्पमा शौचालयसहितको रिफ्रेसमेन्ट सेन्टर बनाउन पहल गरिने जानकारी दिए । साथै, उनले धरानदेखि उत्तरी भेगमा चल्ने बसहरुमा टाइमकार्ड लागू गराउन पनि उपमहानगरपालिकाले पहल गर्ने बताए ।
सरसफाई कार्यक्रममा दुई सयभन्दा बढीको जनसहभागिता रहने अनुमान गरिएको छ ।