Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माधव नेपालले धरानमा भने-

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७८, शुक्रबार
माधव नेपालले धरानमा भने-

धरानः नेकपा (एकीकृत समाजवादी) का सङ्घीय अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको भविष्य छैन भनेरै आफूहरुले पार्टीमा विद्रोह गरेको बताएका छन् ।
धरान–१० सैनिक भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टीमा कुनै भविष्य नदेखेको र भविष्य नभएको पार्टीमा घुसेर, पिल्सिएर बस्नुभन्दा क्रान्तिकारी पार्टीमा समाहित भएर जानुपर्छ भनेर आफूहरुले विद्रोह गरे अर्को पार्टी खोलेको बताए ।
‘विद्रोह हुने एउटा कारण हुन्छ जब व्यक्तिमा, नेतामा दम्भ स्वभाव हुन्छ’, केपी ओलीप्रति इङ्गीत गर्दै उनले थपे, ‘दम्भ बोकेका नेता, अहङ्कारी नेता, अरु सबैको अनादर गर्ने, आफूलाई जान्ने सुन्ने ठान्ने, सिक्ने प्रवृत्ति शुन्य, असहिष्णु, हेपाहा प्रवृत्ति बोक्ने, अब्बल, गज्जबको काम गरें, शानदार काम गरे भनेर फुर्ति लगाउने, आफूबाहेक यस धर्तीमा कोही छैन भन्ने ठान्ने, जनताको मागअनुसार चल्न नसक्ने, देश, जनता र समयको मागअनुसार चल्न नसक्ने, यो पार्टीको कुनै भविष्यमा छैन, भविष्य नभएको पार्टीमा घुसेर, पिल्सिएर बस्नुभन्दा क्रान्तिकारी पार्टीमा समाहित भएर जानुपर्छ भनेर आफूहरुले विद्रोह गरेका हौं । यो पार्टी उज्ज्वल भविष्य बोकेको पार्टी हो ।’
उनले केपी ओलीले विष छर्ने मात्रै काम गरेको उनको आरोप थियो । ‘एमालेमा हामी उज्यालो छर्दै थियौं, ओलीले विष छर्ने काम गरेपछि हामी साइड लाग्यौं ।’ उनले भने ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भ्रष्टाचार र सेटिङले देशको सबै क्षेत्रलाई बिगारेको बताएका छन् । ‘नेताहरु नै भ्रष्टाचारमा संलग्न भएका छन्’, उनले भने, ‘प्रशासन संयन्त्र पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको अनि जनतालाई छिटोछिटो सेवा नपुगेका जनगुनासो बढिरहेको छ, यहाँ मुख्यमन्त्रीज्यू पनि हुनुहुन्छ, सुन्नुहोस्, केन्द्रीय नेता छौं, हामी पनि सुन्छौं, भ्रष्टाचारमा मुछिदैनौं, भ्रष्टाचारलाई अन्य गर्न चाहन्छौं, हामी संकल्प गर्छौं घुसको पैसा लिन्नौं ।’
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय उपाध्यक्ष जयन्ती राई, पोलिटब्युरो सदस्य तथा प्रदेश १ का सह–इन्चार्ज देउमान सम्वाहाम्फे, पोलिटब्युरो सदस्य धर्म निरौला, महवुद अन्सारी, केन्द्रीय सदस्य केशव विष्ट, जीवन राई, सुष्मा राई, धर्म पौडेल, विष्णुमति राई, सुष्मा राई, इन्द्रावती राई, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सामाजिक विकासमन्त्री राजन राईलगायतको उपस्थिति थियो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै धरान उपमहानगर कमिटीका अध्यक्ष रेवतीरमण राईले नेकपा एसले मात्रै धरानको समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा खम्बुवान पार्टी भोजपुरका अशोककुमार राई, सिद्धिकुमार राई, मिसन चाम्लिङ राईलगायत एमाले, कांग्रेसबाट पार्टीमा प्रवेश गर्ने चार सय बढी नेता, कार्यकर्ता पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकाहरूलाई अध्यक्ष नेपाल, मुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरूले अविर , टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend