Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बालिका स्कुलमा ‘बालिका स्टार’

हाम्रो कोशी आवाज
चैत्र १ २०७८, मंगलबार
धरानको बालिका स्कुलमा ‘बालिका स्टार’

धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा आयोजित धरान–१६ वडाव्यापी बालिका स्टार सिजन–२ आयोजना भएको छ ।
ज्योतिपुञ्ज बाल क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा गायनतर्फ बालिकाकै निशा तामाङ बिजेता बनेकी छिन् । त्यस्तै, सियोन स्कुलकी छात्रा सजीना राई दोश्रो भइन् भने बालिकाकी सोनिया मुर्मु तेश्रो भइन् ।
विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा राई बिजेता बनिन् । अनिसा थापा मगर र निर्मा राई क्रमशः दोश्रो र तेश्रो भए । बालिका स्टारकै अवसरमा भएको कविता प्रतियोगितामा अनुस्का राई पहिलो भइन् । सृष्टि लुइँटेल र सोनिया राई क्रमशः दोश्रो र तेश्रो भए ।
त्यस्तै, लघुकथा वाचन प्रतियोगितामा तुलसा राई पहिलो भइन् । सन्ध्या राई र रेजिना लामिछाने क्रमशः दोश्रो र तेश्रो भए । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष कुमारबाजे आङ्बुहाङ लगायतले ट्रफी र प्रमाण–पत्र प्रदान गरे ।
गायनतर्फको निर्णायकमा गायक एवम् पूर्वाञ्चल बागिना कला केन्द्र धरानका अध्यक्ष भक्तिराज राई र गायक दीपेश राई थिए । नृत्यतर्फको निर्णायकमा नृत्य प्रशिक्षक रेसु धमला र जीना राई थिए । त्यस्तै कविता र लघुकथा वाचनको निर्णायकमा विद्यालयका शिक्षिकाद्वय तारा बराल र गङ्गा वन थिए ।
प्रतियोगितामा १६ नम्बर वडामा रहेका सियोन स्कुल, चन्द्र संस्कृत मावि., भगवती आधारभूत विद्यालय र शारदा बालिका गरी ४ वटा विद्यालयले सहभागिता जनाएको विद्यालयका प्रधानाध्यापक राईले जानकारी दिए ।

प्रतियोगीतामा गायनतर्फ १९ जना, नृत्यतर्फ १३ जना, कविता वाचनमा ११ जना र लघुकथा वाचनमा ९ जना सहभागी भएको आयोजकले जनाएको छ । यसै अवसरमा विद्यार्थीहरुको गायन प्रतिभा उजागर गर्न योगदान पुरयाएबापत गायक एवम् सङ्गीतकार भीषन अधिकारीलाई सम्मान गरिएको छ ।
यसैगरी विद्यालयलाई आवश्यक सल्लाह, सुझाव दिनेलगायत हरेक काममा सक्रिय अभिभावकको भूमिका निर्वाह गरेको भन्दै छात्रा तुलसा राईको अभिभावक भेषकुमारी राईलाई पनि सम्मान गरिएको छ । त्यसै अवसरमा विद्यालयमा लामो समयसम्म सेवा गरी अवकास पाएका शिक्षकहरुलाई बिदाइ गरिएको छ ।
अनिवार्य अवकास पाएका लाल बिहारी यादव, विद्या खनाल, दीपक आचार्य र स्वेच्छिक अवकास लिएका पिपी कोइरालालाई विद्यालयका प्रअ राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ लगायतले सम्मानपत्रसहित खदा र अविर लगाएर बिदाई गरे ।
धरान उप–महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष दिलकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रअ राईले स्वागत मन्तब्य राखे भने शिक्षिका अर्चना ढकालले कार्यक्रमको औचित्यको बारेमा जानकारी दिइन् । विद्यार्थीहरुभित्र लुकेर रहेको अन्तरनिहीत प्रतिभालाई उजागर गर्नको लागि गत सालबाट बालिका स्टार आयोजना गर्न सुरु गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने क्लबका संरक्षक एवम् शिक्षक पदम लुइँटेलले जानकारी दिए । गायतर्फका बिजेता निशा तामाङलाई पूर्वान्चल सिङ्गीङ स्टार सिजन–९ को उत्कृष्ट –२० मा सिधै प्रवेश गराईने निर्णायक एवम् पूर्वान्चल सिङ्गीङ स्टार र मिस स्टेट –१ का आयोजक पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष भक्तिराज राईले घोषणा गरे । उनले भने, ‘सम्भावना बोकेका नव प्रतिभालाई हामी उचित स्थान र अवसर दिन्छौं ।’
कार्यक्रमको अन्त्यमा गायक राईले आकासैमा चिल हो कि बेसारा र तुलसी आगनमा रोपौला बोलको गीत गाउँदा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नाचेर साथ दिएका थिए । प्रदेश नम्बर १ कै एकमात्र छात्राहरु मात्र पढ्ने यस विद्यालयमा प्रदेस १ भरिका ताप्लेजुङ, पाचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, संखुवासभा, उदयपुर, मोरङ, धनकुटालगायतका विभिन्न जिल्लाहरुबाट छात्राहरु पढ्न आउने गर्छन् । कार्यक्रमको सञ्चालन छात्राद्वय समीक्षा राई र अम्बिका राईले गरे ।

 

प्रकाशित मिति: चैत्र १ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend