धरानः पप गायक धिरज राईले आफ्नो करिब २५ वर्ष पुरानो चर्चित गीत लुकी–लुकीको रि–रेकर्ड सार्वजनिक गरेका छन् । यो गीतसंगै गायक राई करिब ५ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् ।
पारिवारिक तथा अन्य कारण लामो समय सांगीतिक क्षेत्रबाट केहि पर रहेका गायक राई पप गीतमा निकै चर्चित नाम हो । आफै शब्द बनाउने र आफै संगीत गर्ने कलामा पोक्त राईलाई पुनः सांगीतिक क्षेत्रमा भने कीर्तिपुरका दुई नव कलाकार देलविस दर्शनधारी र राज रोहण तुम्बाहाम्फे फकाएका हुन् ।
उनको चर्चीत पप गीत लुकी लुकी लाई नयाँ स्वरुपमा देलविस र राजले बजारमा ल्याएका छन् । ट्रि इन्टटेन्मेन्टको ब्यानरमा बनेको नयाँ म्यूजिक भिडिओमा देलविस, राज रोहण र आचल शर्मालाई देख्न सकिन्छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । काठमाडौं ऐतिहासिक नगरी कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी म्यूजिक भिडियो सार्वजनिक गरिएके थियो ।
करिब २५ बर्ष पुरानो गीतलाई पुनः जीवन दिएकोमा गायक राईले खुशी व्यक्त गरे । ‘कुनै समय पप गीतको एक जमाना थियो हरेक यूवा यूवतीको पहिलो रोजाइ थियो । त्यो समयमा निर्माण गरिएको भिडिओले गीतको भावलाई सम्मान गर्न नसकेका कारण अहिलेको यूवा पुस्ताकालागि पुनः गीत बजारमा ल्याएको हुँ,’ उनले भने, ‘अहिले प्रविधिको विकास छ, गीतले मागेको विषयबस्तुलाई प्रस्तुत गर्न सकिने स्रोत साधान रहेकाले गीतले थप जिवन पाएको छ ।’