धरानः धरानमा २०४८ सालदेखि वार्षिकरुपमा निरन्तर गरिँदै आएको छेवर, ब्रतबन्ध, गुन्युचोली तथा बेलविवाहलगायतका वैदिक संस्कार यस वर्ष चैत २० गतेदेखि आयोजना हुने जनाइएको छ ।
विजयपुर आध्यात्मिक मञ्चले फजुल खर्च नगरौं, मितव्ययी बनौं साथै सामूहिक कार्यक्रममा सहभागी बनौं भन्ने मूल उद्देश्य राखी सामूहिक कार्यक्रमको आयोजना गरिएको मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले जानकारी दिए ।
पिण्डेश्वर मन्दिरमा सामुहिक वैदिक संस्कारअनुसार छेवर, ब्रतबन्ध, गुन्युचोली तथा बेल विवाह लगायतका वैदिक संस्कार सम्पन्न गरिने उनले बताए । मञ्चको बैठकले सामूहिक अनुष्ठान व्यवस्थित गर्न प्रचार सचिव दुर्गा काफ्लेको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समिति अन्तगर्तत ११ वटा उपसमितिहरु गठन गरिएका छन् । उपसमितिमा प्रचारप्रसार संयोजक कमलप्रसाद भट्टराई, आर्थिक संयोजक पङ्कज घिमिरे रहेका छन् ।
मण्डप व्यवस्थापन संयोजक हरिकुमार ढकाल, पूजा व्यवस्थापन संयोजक शुभद्रा सुवेदी, खद्यान आपूर्ति संयोजक हिमप्रसाद ओझा, सरसफाइ संयोजक भूपध्वज बुढाथोकी, स्वयमसेवक व्यवस्था संयोजक ललनकुमार विश्वकर्मा, जनसम्पर्क संयोजक राजेन्द्रकुमार भण्डारी छन् । यस्तै, भोजन भण्डारा व्यवस्था संयोजक अरुणा पोखरेल, स्वागत सत्कार संयोजक निर्मला शर्मा नेपाल, अनुगमन मूल्याङ्कन संयोजक पण्डित केशवप्रसाद अधिकारी रहेको मञ्चले जनाएको छ ।
उनका अनुसार २०४८ सालमा पहिलोपटक आयोजना गरिएको कार्यक्रममा १०८ जना बटुकहरुको सामूहिक वैदिक संस्कार गरिएको अध्यक्ष पितरुमल अग्रवाल बताउँछन् ।