धरानः नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले आगामी बैशाख–३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शनिबार एक कार्यक्रमका बीच १ हजार १ सय ९९ सदस्यीय निर्वाचन परिचालन मूल समितिको घोषणा गरेको छ ।
धरान–१५ स्थित चुम्लुङ भवनमा पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य किरणकुमार राईको संयोजकत्वमा समितिका सदस्य सचिव एवम पार्टीका धरान नगर इञ्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले निर्वाचन परिचालन मूल समिति घोषणा गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन मूल समितिका संयोजक राईले यो पार्टी ठिक कि त्यो पार्टी ठिक भनेर नअलमलिकन देशको स्वाभिमान र समृद्धिको निम्ति स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन आग्रह गरे ।
पार्टीका १ नम्बर प्रदेश समिति सदस्य एवम् सुनसरी जिल्ला इञ्चार्ज मुक्सामहाङ मेन्याङ्बोले नेकपा माओवादी क्रान्तिबाट विचलित नभएको बताउँदै माओवादीकै एजेन्डामा देश कुदिरहेको बताए । उनले भने, ‘माओवादीकै एजेन्डामा देश हिँडिरहेको छ, त्यसैले यसलाई संस्थागत गर्न माओवादीलाई जिताउनु आवश्यक छ ।’
२०६४ सालमा माओवादीले धरानमा एक्लै चुनाव जितेको दृष्टान्त प्रस्तुत गर्दै मेन्याङ्बोले आगामी बैशाख–३० गते एक्लै चुनाव लड्नुपर्ने अवस्था आए एक्लै लड्न सक्ने बताए । केपी ओलीले बाहिर–बाहिर चुनाव जित्छौं भन्दै हिँडेपनि भित्रभित्रै ढ्याङ्ग्रो बजिसकेको उनले बताए । त्यस्तै, प्रदेश निर्वाचन प्रमुख राजेन्द्र किरातीले एजेन्डा एउटाको र सरकार अर्काको भयो भने लक्ष्य प्राप्त गर्न नसकिने बताए । उनले भने, ‘विचार, सिद्धान्त, राजनीतिक एजेन्डा माओवादीसँग छ, त्यसैले चुनावमा माओवादीलाई नभएर एजेन्डालाई जिताउनुपर्छ ।’
पार्टीका धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज) ले आगामी बैशाख–३० गतेको निर्वाचनमार्फत् धरान माओवादीमय बन्ने दावी गरे । त्यसैगरी पार्टीका प्रदेश समिति सदस्य एवम् सुनसरी जिल्ला सहइन्चार्ज अइन्द्रविक्रम बेघाले माओवादीप्रति विरोधीहरुले छरेको भ्रम चिर्दै मुलुकको ब्यबस्थाको नेतृत्व गर्न र संविधानको रक्षा गर्न संघ, प्रदेश र स्थानीय तहमा माओवादीलाई भोट दिएर जिताउन आग्रह गरे ।
धरानको विकास गर्न एमाले, काङ्ग्रेस जस्ता पुरानो नेतृत्व असफल भएको बताउँदै यो पटक नगर र वडाको नेतृत्व गरी विकास गर्नको लागि माओवादीलाई जिताउन बेघाले आग्रह गरे ।
पार्टीका अर्का युवा नेता अशोक राईले रात दिन नभनी एक ढिक्का भई खटेर निर्वाचनमा जानुपर्ने बताए । कार्यक्रममा ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहाकार समितिका सदस्यहरुलाई सम्मानपत्रले सम्मान गरिनुका साथै सपथ ग्रहण समेत गराइएको थियो ।