धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थी पर्यटकीय साथै होमस्टेले मुहार फेरेको गाउँ नाम्जेको भ्रमण गरेका छन् । कक्षा-१० का विद्यार्थी अर्थात् एसईई लेख्ने तयारीमा रहेका विद्यार्थीहरु त्यहाँको भ्रमणमा गएका हुन् ।
धनकुटाको भेडेटारनजिक रहेको नाम्जेमा विद्यार्थी दुईदिनसम्म रमाए । अर्गानिक खानेकुरा खाँदै हुर्रा नाचको अवलोकनपछि हुर्रा नाच समेत नाचेर विद्यार्थी फर्किएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । ‘अर्गानिक खानेकुरा, संस्कार, संस्कृति साथै हुर्रा नाच नाच्दै विद्यार्थी फर्किए’, उनले थपे, ‘साह्रै रमाइलो भयो ।’
होमस्टेको अवधारणा, पूर्वाधार, कसरी सञ्चालन भएको हो, कसरी स्वागत गरिन्छ आदिबारे जान्ने, बुझ्ने मौका मिलेको विद्यार्थी ओङदी तामाङले बताइन् ।
होमस्टे अर्थात् घरबास कार्यक्रम शुरु गरेका यहाँका स्थानीयले अहिले नाम्जे गाउँमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई स्थानिय उत्पादनका परिकार, खानपान र मगरहरुको मौलिक हुर्रा नाच देखाएर स्वागत गर्ने गरिएकोबारे जानकारी मिलेको छात्र दीपन श्रेष्ठले बताए ।
नजिकको तिर्थ हेला भनेझैं नजिकको पर्यटकीय गन्तव्य पुगेपछि धेरै जानकारी मिलेको छात्रा रोनिशा लिम्बूले बताइन् । छात्रा प्रकृति लिम्बूले गाउँले जीवन, होमस्टे, हुर्रा नाचले विद्यार्थीको मन लोभ्याएको बताइन् ।
प्रदेश न १ कै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायिक होमस्टे उत्कृष्ट सामुदायिक होमस्टेमा गनिन्छ । नाम्जेथुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिलकुमार मगरका अनुसार यसअघि नै यो उत्कृष्टमा गनिसकेको छ ।
अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रद्धद्र्धनका लागि चिनिएको यस स्थानलाई अमेरिकी सामाचार संस्था सिएनएनले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचीमा सूचीकृत गरेको थियो । मगर जातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका २२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।
पूर्वको प्रमुख पर्यटकिय स्थल भेडेटारदेखि छोटो दुरीमा रहेको नाम्जे अहिले शान्त वातावरण र चिसो मौसम खोज्ने पर्यटकको गन्तव्य बन्न थालेको छ । अहिले हमस्टेका लागि पूर्वका विराटनगर, इटहरी, धरान, लगायत नजिकका शहरका पर्यटक बढि आउने गरेका छन् ।
होमस्टेको विशेषता भनेको यहीँ उत्पादन भएका स्थानीय परिकार नै हुन् । गाउँलेले उत्पादन गरेका, ताजा तरकारी तथा फलफूल खान पाउनु र स्थानीय स्वादमा रम्न पाउँदा जो कोही पर्यटक हर्षित बन्छन् ।




