Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-६ को वडाध्यक्षमा जनता समाजवादीले लिम्बूलाई उम्मेद्वार बनायो

हाम्रो कोशी आवाज
चैत्र २२ २०७८, मंगलबार
धरान-६ को वडाध्यक्षमा जनता समाजवादीले लिम्बूलाई उम्मेद्वार बनायो

धरानः धरानमा गठबन्धनका चर्चा चलिरहँदा जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले धरान–६ मा एकजनालाई उम्मेद्वार बनाएको छ ।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै उसले उम्मेद्वार बनाएको हो । शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष एवम् केन्द्रीय सदस्य दलमर्दन कामीको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा कार्यक्रम आयोजना भएको थियो । घोषित उम्मेदवारहरुमा वडा अध्यक्षमा नरकुमार लिम्बू, रोमन शाही, निरज तामाङ, महिला सदस्य यमुना लिम्बू, शिल्पी महिला सदस्य रविना बिशुंखे रहेका छन् ।
प्रमुख अतिथि दलमर्दनले नव घोषित उम्मेदवार एमाले र काङ्ग्रेस भन्दा फरक हुनुपर्ने बताए । उनले आजकै मितिबाट प्रचारप्रसारमा लागेर जनताको पक्षमा बोलेर जनताको घर आँगनमा जान शुभकामना दिए ।
धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बूले निर्वाचन तोकिसके पनि अन्य दलले अहिलेसम्म उम्मेदवार घोषणा गर्ने जमर्को नगरेको अवस्थामा जनता समाजवादीले भने उम्मेदवारी घोषणा गरेर एक्लै भएपनि चुनावमा जान तयार भएको बताए । गठबन्धनको विषयमा वार्ता छलफल भइरहेको बताउँदै गठबन्धन नभएपनि एक्लै लड्न तयारी रहन नवघोषित उम्मेदवारसहित वडा समितिलाई तयारी रहन सुझाव तथा निर्देशन दिए ।
धरानमा मेयरले ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप उपमेयर मञ्जु भण्डारीले लगाएको बताउँदै भने, ‘यसरी उपमेयरले मेयरप्रति आरोप लगाउनु भनेको हावा नचली पात नहल्लिनु नै हो ।’ उनले हालका उपमेयर मञ्जुले काठमाडौंमा दुईवटा घर किनिएको हल्ला चलिसकेको बताउँदै प्रश्न गरे, ‘भ्रष्टाचार नगरेको भए कहाँबाट कमाएर घर किनियो ?’ धरानको खानेपानीमा दुईवटा वेल खन्न दुई करोड ५० लाखमा बिना टेन्डर काम गर्नु भनेको भ्रष्टाचार भएको उनको तर्क थियो ।
कार्यक्रममा शिल्पी विशेष धरान नगर सचिव शशी विक, लिम्बुवान राष्ट्रिय समिति सदस्य कमल लिम्बूसहित वडाबासीको उपस्थिति रहेको थियो । कार्यक्रम कमला पाख्रीनको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: चैत्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend