धरानः उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।
कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले मदन भण्डारी लोकमार्ग पनि अवरुद्ध गरेका छन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध ोकमा प्रदर्शन गरेका छन् ।
हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका हुन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नुपर्ने माग गरेका छन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने समेत अडान लिँदै आएका छन् । परिवारले अहिलेसम्म शव जिम्मा लिएका छैनन् । यसैबीच विद्यालयले बुधबार शोकसभा समेत आयोजना गरेको छ ।
सुनुवारको शब मंगलबार स्थानीय यशोदा खोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । सुनुवारको हत्या आशंकामा इलाका प्रहरी कार्यालय ठोक्किसाले भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जीतबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जीतबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) लाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला रहेको प्रहरी उदयपुरले जनाएको छ । प्रहरीका अनुसार बियरको बोतल र ढुङ्गाले हिर्काएर उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनास्थलबाट बियरका बोतल र रगत लागेको ढुंगा बरामद भएको जनाएको छ ।
‘कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उनको शव विभत्स अवस्थामा फेला परेको थियो । विद्यालयमा प्रत्येक दिन बिहान सवा ६ बजेदेखि अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा लिँदै आएकी उनी आफ्नै साथीबाट बियरको बोतलले हिर्काएपछि जमिनमा लडेकी र टाउकोमा ढुंगा प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । कवितामाथि आक्रमण गरिसकेपछि उनीहरूले घिसारेर खोलासम्म लगेको र फेरि टाउकोमा ढुंगा बजारेको उनीहरूले बताएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ । प्रहरीले पक्राउ परेका दुवैजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार समेत गरिसकेको जनाएको छ ।
प्रहरीले कविताको मोबाइल साथीको घरबाट बरामद समेत गरेको दावी गरेको छ । कवितामाथि आक्रमण गर्दा विनोदको शरीरमा समेत चोट लागेको प्रहरीले जनाएको छ । आफूलाई हेप्ने गरेका कारण कवितामाथि आक्रमणको योजना बनाएको उनकी साथीले बताएकी छन् । अनुसन्धानका क्रममा केही समयअघि मनमुटाव भएर कविता र उनकी साथीबीच बोलचाल पनि बन्द भएको थियो । पक्राउ परेकाहरूमाथि प्रहरीले म्याद थपेको छ । घटनाबारे प्राविधिक पाटोको अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।