धरानः गठबन्धनमा रहेका ५ दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत) ले चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम हुने सम्भावना देखिएको छ । नेपालको संविधान २०७२ अनुसार कुनैपनि दलले प्रमुख र उपप्रमुख लिङ्गको आधारमा (प्रमुख पुरुष भए उपप्रमुख महिला, प्रमुख महिला भए उपप्रमुख पुरुष) उम्मेद्वार खडा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, गठबन्धनमा फरक–फरक दल भएकाले दुवै पदमा पुरुषकै उम्मेदवार पर्ने सम्भावना हुन्छ । अहिले निर्वाचन आयोगले दलले एक पदमा मात्रै उम्मेदवारी दिँदा महिलालाई अवसर दिनुपर्ने निर्देशन जारी गरिसकेको छ । सो निर्देशन कार्यान्वयन हुनेमा महिलाहरूलाई भरोसा नरहेको महिलाहरुले बताएका छन् ।
धरानमा मेयरमा पुरुषको चर्चा भइसकेको छ तर उपमेयरमा महिलाको चर्चा भएकै छैन । तालमेलअनुसार काङ्ग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पाउने सम्भावना छ । माओवादी केन्द्रले उपमेयर लिएपनि महिला नउठाउने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर माथिल्लो निर्णय पर्खिनुपर्ने हुनाले महिलाको पनि सम्भावना रहेको माओवादी केन्द्रका एक नेता बताउँछन् ।
उपप्रमुख पद गुम्ने चिन्ता
महिलाहरूले स्थानीय तहको प्रमुख पदमै पनि दावी गरिरहेपनि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय नै भइसकेपछि उपप्रमुखको पद पनि गुम्ने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।
अब चुनावी तालमेल भए महिलाको पद पनि लिन नसक्ने देखिएको र महिलाहरु अहिलेदेखि नै चिन्तित रहेको नेकपा माओवादी केन्द्रकी धरान नगर सदस्य प्रेस सेन्टर केन्द्रीय गंगा बरालले जानकारी दिइन् । ‘संविधानले दिएको महिलाको ३३ प्रतिशत अधिकार गुम्न दिनु हुँदैन’, उनले भनिन्, ‘धरानमा अहिले महिलाहरू निर्णायक तहमा नपुग्ने हुन् कि भन्ने चिन्ता सबैमा छ, त्यसको लागि महिलाहरुलाई प्रमुख पद वा उप पदसम्म भएपनि दिनैपर्छ ।’ उनले आफूले सामाजिक, पत्रकारितालगायतको क्षेत्रमा योगदान गरेको र पार्टीले यस्तो योगदान भुल्न नहुने बताइन् ।
उनी आफैले पनि उपमेयरका लागि आकाङ्क्षा राख्दै आएको बताइन् । ‘मैले चुनावी तालमेल भएपनि, नभएपनि उपमेयरमै इच्छा राख्दै आएको थिएँ, हेरौं पुरुषले यसका लागि कति सहजता प्रदान गर्लान् ।’ उनले भनिन् । उनले उपमेयरचाहिँ महिलालाई नै दिनुपर्ने बताइन् । ‘महिलालाई निकै अप्ठ्यारो पर्दा मैले महिला सञ्जाल स्थापना गरेर अहिले संस्थापक छु’, उनले थपिन्, ‘पत्रकारिता क्षेत्रमा पनि योगदान गरिरहेको छु, त्यही भएर म उपमेयरका लागि बढी आकांक्षी हुँ, उपमेयरमा महिलालाई नै दिनुपर्छ ।’
महिला अधिकारकर्मी, हाल महिला सञ्जालकी अध्यक्ष तथा नगर सदस्य चेतना श्रेयङले गठबन्धन भएपनि महिलालाई नै उपमेयर बनाउनुपर्ने बताइन् । ‘हामी कुरामा ३३ प्रतिशतमा गर्छौं तर अहिलेको तालमेल र गठबन्धनले महिलाका कुरा हराउने देखियो’, उनले भनिन्, ‘तर आवाज उठाएर भएपनि महिलालाई नै नेतृत्व सुम्पिनुपर्छ भन्ने पक्षमा म छु ।’ उनले महिलालाई नै मेयर वा उपमेयरको जिम्मेवारी दिँदा खासै असर नपर्ने बताइन् । उनले निर्वाचन आयोगले समेत उम्मेदवारी दिँदा महिलालाई अवसर दिनुपर्ने निर्देशन जारी गरिसकेको पनि कार्यान्वयनमा विश्वस्त नरहेको बताइन् । माओवादी केन्द्रबाट भूमिका चौलागाईं, कमला राईलगायत पनि उपमेयरमा आकाङ्क्षी छन् ।
नेपाली काङ्ग्रेसकी श्यामा रेग्मी आफूले मेयरमै दावी गर्दै आएको बताइन् । ‘मेरो दावीचाहिँ मेयरमै हो’, उनले भनिन्, ‘तर पनि फरक फरक दल मिलेर चुनावी तालमेल गर्दा महिलाहरूले प्रमुख, उपप्रमुख हुँदै वडाध्यक्षको पदमा उम्मेदवारी दिने अवसर नपाउन सक्छन्, यो विडम्वना हो ।’ उनले भनिन् ।
बाध्यताकारी कानुन आउँदा पनि महिला नीति निर्माण तहमा पुग्न नसकेको उनले गुनासो गरिन् । ‘महिलाहरूले यसअघि स्थानीय तहको मेयर र उपमेयर पद पनि बाध्यकारी कानुन बनाउँदा त महिलाहरू नीति निर्माण तहमा पुग्न सकेका छैनन् । भएकाहरू पनि वडा सदस्य मात्रै भए, धरानको कुरा गर्ने हो भने एकजना पनि वडाध्यक्ष महिला देखिएनन् ।’ उनले भनिन्, ‘तालमेल गर्दा निकै अप्ठ्यारो हुने भए, अब वडाध्यक्षसम्म भएपनि महिलाले पाउनुपर्छ ।’
दलका नेता के भन्छन् ?
स्थानीय तहको निर्वाचनका लागि दलहरू उम्मेदवार छनोट प्रक्रियामा छन् । त्यसमा गठबन्धन दलहरूलाई भागबण्डा मिलाउन समस्या हुने देखिएको छ । त्यसैमाथि महिलालाई अवसर दिने विषय झन् चुनौतीको विषय बनेको नेताहरू बताउँछन् । ‘अहिले हामी भागबण्डा मिलाउनै केन्द्रित छौं’ नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेलले भने, ‘तर ढिलोचाँडो हामी टुङ्ग्याउँछौं ।’
उनले गठबन्धन भए मेयर पद आफूहरुको दावी रहने र उपमेयर अर्कै पार्टीले लिने बताए । महिला उपमेयरबारेको प्रश्नमा उनले भने, ‘उपमेयर अर्कै पार्टीमा जान्छ’, उनले भने, ‘महिलालाई नै उठाउनुहोस् भनेर आफूहरुले भन्न सक्दैनौं ।’
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले आफूहरुले मेयरकै दावी गर्दै आएको बताए । उनले तालमेलअनुसार केन्द्रले उपमेयर पाए महिला वा पुरुष को उठाउने भन्नेबारेमा कानुनी प्रक्रियाअनुसार जाने बताए ।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूले गठबन्धनमै पनि धेरै महिला उम्मेद्वार आकाङ्क्षी रहेको बताए । आफूहरुले उपमेयरको दावी गर्दै आएको उनले बताए । ‘उपमेयरमा हाम्रो पनि दावी छ, वस्तुस्थिति मिलाउने हो भने मात्रै माओवादीलाई उपमेयर छोडिदिन्छौं’, उनले भने, ‘तीनवटा वडाचाहिँ हामीले पाउनुपर्छ भन्ने हो ।’ उनले उपमेयर आफूले पाए महिलालाई नै अघि सार्ने बताए । ‘उपमेयर पायौं भने त्यसमा पुरुषको दावी रहन्नँ’, उनले भने, ‘महिलालाई नै छोडिदिन्छौं, त्यस्तै वडाध्यक्षमा पनि महिलालाई नै धेरै अवसर दिन्छौं ।’
अहिले धरानको मेयरका लागि एमालेबाट ११ जनाको नाम सिफारिस भइसकेको छ । नेपाली काङ्ग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छैन । काङ्ग्रेसबाट मेयर तिलक राई, पूर्व नगर उपसभापति किशोर राई, प्रदेश १ महामन्त्री उमेश थापा लगायत दाबेदार छन् । माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा, किरण राई मेयरको दावेदार छन् ।
धरान उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका काङ्ग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।
प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने काङ्ग्रेसका तिलक राईले तत्कालीन नेकपाका प्रकाश राईलाई हराएका थिए । राईलाई झण्डै ३ हजार मतले पराजित गरेका थिए । उपनिर्वाचनमा तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।
धरानको २० वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो भने कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो ।